NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
IranMilitaryRegionalIranianStrikesCrisisGulfEuropeanTargetsStatesPowerMarchGovernmentTimelineOperationsNuclearIsraeliMarketsDigestDiplomaticCoalitionProtestsHormuzIsrael
IranMilitaryRegionalIranianStrikesCrisisGulfEuropeanTargetsStatesPowerMarchGovernmentTimelineOperationsNuclearIsraeliMarketsDigestDiplomaticCoalitionProtestsHormuzIsrael
All Articles
व्यक्तिपूजा कि विचारको राजनीति ?
onlinekhabar.com
Published about 5 hours ago

व्यक्तिपूजा कि विचारको राजनीति ?

onlinekhabar.com · Mar 2, 2026 · Collected from GDELT

Summary

Published: 20260302T124500Z

Full Article

ज्ञान, विवेक, वाणी र चेतनाको स्मरण केवल औपचारिक कर्मकाण्डमा सीमित हुँदैन। यसको सार आत्मचिन्तन, प्रश्न गर्ने साहस र विवेकको जागरणमा निहित हुन्छ। ज्ञान रटानमा होइन, चेतनामा बस्छ। प्रश्न गर्न नसक्ने ज्ञान निष्क्रिय बन्छ र विवेकविहीन अध्ययन केवल प्रमाणपत्रमा सीमित रहन्छ। हामीले आफ्नै शिक्षामाथि प्रश्न गर्नुपर्छ- यसले हामीलाई के बनाइरहेको छ? आज्ञाकारी भीड कि सचेत नागरिक? ज्ञान भनेको केवल अङ्क र डिग्री होइन; ज्ञान भनेको अन्याय देख्दा बोल्ने साहस, असत्यसँग असहमति जनाउने हिम्मत र सही–गलत छुट्याउने विवेक हो। जब हाम्रो वाणी सत्यतर्फ उन्मुख हुन्छ, हाम्रो लेखनी जिम्मेवार बन्छ र हाम्रो चेतना सत्ता, भीड र लोकप्रियताभन्दा माथि उठ्छ, तब ज्ञान सार्थक हुन्छ। मौन होइन विवेकपूर्ण आवाज, अन्धविश्वास होइन तर्क, र डर होइन प्रश्न गर्ने साहस- यही नै साँचो अर्थमा ज्ञानको मूल भावना हो। विगत केही दिनदेखि मेरो मोबाइल लगातार बजिरहेको छ। साथीहरूका फोन, सन्देश र प्रत्यक्ष भेटमा आउने एउटै प्रश्नले मलाई बारम्बार घेरेको छ, ‘यत्रो भीडको बीचमा उभिएर केपी शर्मा ओलीलाई प्रश्न गर्न सक्ने मान्छे अहिले किन मौन छ? यसपटक टिकट किन नलिएको? रास्वपा (रास्वपा) बाट मौका थियो, किन गुमायौँ?’ यी प्रश्नहरू सुन्दा मैले कुनै चातुर्यपूर्ण वा सजिलो जवाफ खोजिनँ। सत्य के हो भने, त्यतिबेला मसँग कुनै ‘तयार उत्तर’ नै थिएन। म मौन रहेँ। त्यो मौन डरका कारण थिएन, न त अवसर चुकाएको पश्चात्तापको उपज। त्यो मौन गहिरो आत्ममन्थनबाट जन्मिएको थियो- ‘हाम्रो समाज आखिर केबाट अघि बढ्छ? व्यक्तिपूजाबाट कि विचारको राजनीतिबाट? हामी नेता खोजिरहेका छौँ कि नेतृत्व? हामी प्रश्न गर्ने संस्कार जोगाइरहेका छौँ कि केवल प्रश्नकर्ताको खोजीमा छौँ?’ राजनीति प्रश्न सोध्ने साहसबाट सुरु हुन्छ, ताली बजाउने भीडबाट होइन। आज म यही प्रश्नसँग आफैँ उभिएको छु, र सायद मेरो मौन त्यही प्रश्नको सबैभन्दा इमानदार अभिव्यक्ति थियो। म तीमध्ये हुँ, जसले कक्षा ९ मै प्रधानमन्त्री हुने सपना देखेको थियो। त्यो सपना पदको लालसा थिएन; त्यो सपना जिम्मेवारीको चेतनाबाट जन्मिएको थियो। मैले देखेको प्रधानमन्त्रीको आकृति सिंहदरबारको कुर्सीमा सीमित थिएन, त्यो त संविधानको आत्मा बोक्ने, नागरिकको प्रश्न सुन्ने र आलोचनालाई शक्ति ठान्ने नेतृत्व थियो। त्यो उमेरमै मैले राजनीति भनेको केवल चुनाव जित्ने खेल होइन, बरु दीर्घकालीन सार्वजनिक उत्तरदायित्वको अभ्यास हो भन्ने बुझ्दै गएको थिएँ। समयसँगै म जेनजी आन्दोलनमा पनि सक्रिय भएँ- नाम कमाउन होइन, परिवर्तन साँच्चै चाहिन्छ भन्ने विश्वासका कारण। सडकमा उभिँदा, बहसमा बोल्दा र लेखमार्फत आवाज उठाउँदा मेरो उद्देश्य एउटै थियो- राजनीतिलाई व्यक्तिको जयजयकारबाट निकालेर विचारको बहसमा ल्याउने। तर आजको यथार्थ हेर्दा लाग्छ, हामी परिवर्तनलाई नीति, योजना र संस्थागत सुधारभन्दा बढी ‘भाइरल क्षण’ मा खोजिरहेका छौँ। विकासका योजनाभन्दा भिडियो क्लिप चर्चामा छन्, संसद् बहसभन्दा ट्रेन्डिङ ह्यासट्याग शक्तिशाली बनेका छन्। यस्तो अवस्थामा प्रश्न उठाउनु ‘अप्रिय’ ठहरिन्छ, आलोचना ‘नकारात्मक’ कहलिन्छ, र फरक विचार ‘देशद्रोह’ जस्तै चित्रित हुन्छ। हामी अहिले यस्तो राजनीतिक संस्कृतिमा बाँचिरहेका छौँ जहाँ भीडको सङ्ख्या नै सत्यको मापन बन्न थालेको छ। जसको पछाडि ठूलो भीड छ, ऊ सही मानिन्छ; जसले ताली धेरै पाउँछ, ऊ योग्य ठहरिन्छ। तर लोकतन्त्रको आत्मा भीडमा होइन, विवेकमा बस्छ। संसद् भीडको प्रतिनिधि त हो, तर विवेकको संरक्षक पनि हो। दुर्भाग्यवश, आज संसद् स्वयम् प्रश्न गर्न डराउने संस्थाजस्तो देखिन थालेको छ। सांसदहरू प्रश्नभन्दा भाषणमा प्रतिस्पर्धा गरिरहेका छन्, र नागरिकहरू जवाफभन्दा दृश्य खोजिरहेका छन्। यस्तो अवस्थामा केपी शर्मा ओलीलाई प्रश्न गरेको भिडियो भाइरल हुनु संयोग थिएन; त्यो हाम्रो समाजको मनोविज्ञानको दर्पण थियो। प्रश्नभन्दा प्रश्नकर्ता चर्चामा आउँछ, उत्तरभन्दा दृश्य शक्तिशाली बन्छ। तर म बारम्बार सोच्छु- के यही हो हामीले चाहेको लोकतन्त्र? आज विकासका कुरा गर्दा हामी सडक, पुल र भवनको सूची प्रस्तुत गर्छौं। तर विकास भनेको केवल भौतिक संरचना होइन; विकास भनेको संस्थागत भरोसा, कानुनी शासन र नागरिकको आत्मसम्मान हो। यदि नागरिकले प्रश्न सोध्न डराउनुपर्ने अवस्था छ भने, त्यो देशमा जतिसुकै ठूला आयोजना बने पनि लोकतन्त्र कमजोर नै रहन्छ। संसद् प्रश्न सोध्ने थलो हो, प्रशंसा गर्ने मञ्च होइन। प्रतिपक्ष सरकारको शत्रु होइन, सरकारको विवेक हो। आलोचना राष्ट्रविरोध होइन, राष्ट्रप्रेमको सबैभन्दा परिपक्व रूप हो। आलोचना र प्रतिपक्षविना न समाज स्वस्थ रहन्छ, न संसद् नै अर्थपूर्ण हुन्छ। तर आज हामी आलोचनालाई गालीसँग मिसाइरहेका छौँ, र प्रश्नलाई अवरोधसँग। यसै सन्दर्भमा बारम्बार उठ्ने अर्को प्रश्न हो- यसपटक टिकट किन नलिएको? मेरो उत्तर सरल छ तर सजिलो छैन। राजनीति केवल चुनाव जित्ने गणित होइन; त्यो मूल्य, समय र आत्माको प्रतिबद्धता हो। टिकट लिनु एउटा प्रक्रिया हो, तर आफूलाई विचारसँग इमानदार राख्नु एउटा सङ्कल्प। म विश्वास गर्छु- यदि म भीडको मन जित्नका लागि आफ्नो विवेकसँग सम्झौता गर्नुपर्छ भने, त्यो जित होइन, आत्मसमर्पण हो। कहिलेकाहीँ चुनाव नलड्नु पनि राजनीतिक निर्णय हुन्छ। कहिलेकाहीँ मौन बस्नु पनि विरोध हो। किनकि सबै प्रश्न माइक समातेर मात्र सोधिँदैनन्; केही प्रश्न समयमै आफैँले आफूलाई सोध्नुपर्छ। हामी आज यस्तो मोडमा उभिएका छौँ जहाँ राजनीति ‘इभेन्ट म्यानेजमेन्ट’ जस्तै बन्दै गएको छ। भाषण, स्टेज, नारा र दृश्य- सबै कुरा योजनाबद्ध छन्, तर नीति र दर्शन अस्पष्ट छन्। विकासका नक्साभन्दा प्रचारका स्क्रिप्ट बलिया छन्। यस्तो राजनीतिमा प्रश्न असहज हुन्छ, किनकि प्रश्नले स्क्रिप्ट बिगारिदिन्छ। तर लोकतन्त्र स्क्रिप्टले होइन, संवादले चल्छ। संवादमा असहमति हुन्छ, आलोचना हुन्छ, र कहिलेकाहीँ असजिलो मौन पनि हुन्छ। म त्यो मौनको पक्षमा उभिएको छु, जुन मौनले भीडलाई ऐना देखाउँछ। म सबै विचारको समर्थक हुँ, तर अन्धसमर्थनको होइन। म सबै नेताको सम्मान गर्छु, तर निरपेक्ष निष्ठाको होइन। समर्थनसँगै प्रश्न हुनुपर्छ, नेतृत्वसँगै उत्तरदायित्व हुनुपर्छ, र शक्तिसँगै प्रतिपक्ष अनिवार्य हुनुपर्छ। यदि हामीले प्रश्न सोध्न छोड्यौँ भने, भोलि उत्तर माग्ने अधिकार पनि गुमाउँछौँ। इतिहास सधैँ प्रश्नकर्ताको पक्षमा उभिएको छ, ताली बजाउने भीडको होइन। अन्ततः, यसपटक टिकट नलिनु, भीडको बीचमा उभिएर प्रश्न नगर्नु, वा केही समय मौन बस्नु हार होइन। त्यो एउटा सचेत छनोट हो- व्यक्तिभन्दा विचारलाई माथि राख्ने छनोट। राजनीति तत्काल जितको खेल मात्र होइन, त्यो दीर्घकालीन चेतनाको निर्माण हो। कहिलेकाहीँ नबोल्नु पनि प्रतिरोध हुन्छ, र कहिलेकाहीँ मौनले भीडलाई ऐना देखाउँछ। म दृढतापूर्वक विश्वास गर्छु- ‘व्यक्ति आउँछन् र जान्छन्, तर विचार बाँच्छ; भीड बदलिन्छ, तर सिद्धान्तले इतिहास लेख्छ।’ यदि परिवर्तन साँच्चै चाहिएको हो भने, हामीले भाइरलभन्दा विचार रोज्नुपर्छ, तालीभन्दा बहस रोज्नुपर्छ, र प्रशंसाभन्दा प्रश्न। किनकि प्रश्न गर्ने समाज मात्र अघि बढ्छ; बाँकी सबै त क्षणिक भीड मात्र हुन्। यस लेखको निष्कर्ष कुनै व्यक्ति वा दलविरुद्ध उभिनु होइन; यो त व्यक्तिपूजाको राजनीतिभन्दा माथि उठेर चेतनाको राजनीतिमा विश्वास गर्न गरिएको आग्रह मात्र हो। म कसैको विरोधी होइन, म अन्धसमर्थक पनि होइन। म त आलोचक हुँ तर जिम्मेवार आलोचक; म समर्थक हुँ तर राम्रो कामको सशक्त समर्थक। लोकतन्त्रमा यही सन्तुलन आवश्यक हुन्छ। जहाँ प्रशंसा मात्र हुन्छ, त्यहाँ सुधार हुँदैन; जहाँ आलोचना मात्र हुन्छ, त्यहाँ निर्माण हुँदैन। समाज अघि बढ्न दुवै चाहिन्छ। व्यक्तिलाई देवत्वकरण गर्ने राजनीति अन्ततः संस्थालाई कमजोर बनाउँछ र नागरिकलाई मौन बनाउँछ। तर चेतनामा आधारित राजनीति नागरिकलाई प्रश्न गर्न सिकाउँछ, उत्तर माग्न हिम्मत दिन्छ, र नेतृत्वलाई जिम्मेवार बनाउँछ। मेरो मौन, मेरो प्रश्न, र मेरो छनोट यही चेतनाको निरन्तरता हो। यो हार होइन; यो वैचारिक इमानदारी हो। आजको आवश्यकता भीड होइन, विवेक हो; नारा होइन, संवाद हो; र व्यक्तिपूजा होइन, विचारको राजनीति हो। म यही विश्वासमा उभिएको छु र यही विश्वासका साथ भन्छु- लोकतन्त्र तालीले होइन, चेतनाले बाँच्छ।


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.comabout 5 hours ago
गाउँमा आइरहेका परिवर्तन र चुनावपछिको परिदृश्य

Published: 20260302T124500Z

onlinekhabar.comabout 5 hours ago
नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य ?

Published: 20260302T124500Z

onlinekhabar.com1 day ago
के एउटा फिल्मले राज्यको सामाजिक संरचना बिगार्न सक्छ ?

Published: 20260301T083000Z

onlinekhabar.com1 day ago
यौनइच्छा कम हुने समस्या बढ्दै , कुनै तरिका छ बढाउने ?

Published: 20260301T083000Z

onlinekhabar.com1 day ago
रवि एकल चिन्तनवादी हुन् , बालेनको क्रेजलाई दुरुपयोग गर्नसक्छन् – Online Khabar

Published: 20260301T051500Z

onlinekhabar.com1 day ago
क्लिपदेखि रिलसम्म छाइरहेको चुनावी रंग

Published: 20260301T051500Z