
onlinekhabar.com · Mar 1, 2026 · Collected from GDELT
Published: 20260301T083000Z
News Summary Generated by OK AI. Editorially reviewed. केरला उच्च अदालतले विवादपछि \'द केरला स्टोरी २: गोज बियोन्ड\' फिल्म प्रदर्शनको अनुमति दिएको छ । यो फिल्म भातरीय जनता पार्टीलाई फाइदा पुग्ने गरी बनेको र यसले समाजमा फाटो ल्याउन सक्ने आरोप लागेको छ। भारतको दक्षिणी राज्य केरलामा हिन्दु महिलालाई धर्म परिवर्तन गराएर इस्लामिक स्टेट समूहमा सामेल गराइएको कथा बोकेको ‘द केरला स्टोरी’ रिलिजपूर्व नै विवादमा परेको फिल्म हो । विवादबीच सन् २०२३ मा रिलिज भएको यस फिल्मका कारण साम्प्रदायिक झडप हुँदा भारतको महाराष्ट्र राज्यमा सयौं घाइते भए भने एक जनाको ज्यान गयो । त्यहाँ विपक्षी दलका नेताहरूले फिल्मलाई प्रपोगाण्डा भन्दै आलोचना गरेका थिए भने निर्माताले वर्षौंको अनुसन्धान र सत्य घटनामा आधारित रहेर फिल्म बताएका थिए । अहिले सोही फिल्मको नयाँ सिक्वेल ‘द केरला स्टोरी २: गोज बियोन्ड’ प्रदर्शनमा आएको छ । तर यो पनि विवादरहित बन्न सकेन । केरला उच्च अदालतले प्रदर्शनको अनुमति दिए पछि मात्र गत शुक्रबारदेखि यो फिल्म भारतीय हलमा लागेको छ। जानकारहरूका अनुसार कानुनी लडाइँपछि हलमा आउँदा यसले आगामी चुनावमा भारतीय जनता पार्टी (भाजपा) लाई सिधै ठूलो फाइदा नपुर्याए पनि समाजमा भने फाटो ल्याउन सक्छ । यसले भविष्यमा केरलाको राजनीति र समाजमा गहिरो असर पार्ने अनुमान गरिएको छ । फिल्मको नाममा ‘केरला’ शब्द राख्ने विषयमा नै अदालतमा ठूलो विवाद भएको थियो । केरला उच्च अदालतको इजलासले २४ घण्टाभित्रै दोस्रो पटक सुनुवाइ गर्दै पहिलेको रोक हटाएर फिल्म देखाउने बाटो खोलिदिएको थियो । यो फिल्म र यससँग जोडिएका कानुनी झमेलाले गर्दा अहिले समाजमा विभिन्न समुदायबीचको सम्बन्धलाई लिएर नयाँ बहस सुरु भएको छ । भारतका केही राजनीतिक विश्लेषकहरू फिल्मको मुख्य उद्देश्य भनेकै विभिन्न समुदायबीचको पुरानो सम्बन्धलाई तोड्नु र हिन्दुत्वको राजनीतिलाई बलियो बनाउनु रहेको टिप्पणी गर्छन् । त्यस्तै यो फिल्ममा देखाइएका कुनै पनि कुराहरू तथ्यमा आधारित नभएको बताउँछन्। केरलाको कथामा कति सत्यता छ ? अघिल्लो भागमा जस्तै यसमा पनि मुस्लिम पुरुषहरूले हिन्दु वा इसाई महिलाहरूलाई प्रेमजालमा पारेर धर्म परिवर्तन गर्न बाध्य पार्छन् भन्ने देखाइएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यस्तै दाबीका कारण अदालतमा उजुरी परेको थियो । तर, सरकारी तथ्याङ्कले भने अर्कै कुरा देखाउँछ । सन् २०२० र २०२४ का रिपोर्टहरूले फिल्मको दाबीलाई झुटो साबित गर्छन् । २०२० को तथ्याङ्कमा त्यस वर्ष अन्य धर्मबाट हिन्दु धर्ममा आउनेहरूको संख्या सबैभन्दा धेरै थियो । कुल ५०६ जनाले धर्म परिवर्तन गर्दा २४१ जना इसाई वा इस्लामबाट हिन्दु बनेका थिए । त्यस्तै २०२४ मा ३६५ जना हिन्दु बनेका थिए, जसमा धेरैजसो दलित इसाई र मुसलमान थिए । उनीहरूलाई राज्यको विशेष सुविधा पाउने लोभ देखाइएको थियो । तथ्याङ्क अनुसार हिन्दुबाट मुस्लिम बन्नेहरूको संख्या २७६ थियो भने इसाईबाट हिन्दु बन्नेहरूको संख्या १८० महिला र १४९ पुरुष थियो । यसले धर्म परिवर्तन कुनै एउटा दिशामा मात्र गइरहेको छैन भन्ने देखाउँछ । राजनीतिक असर के होला ? केही व्यक्तिहरू प्रेम विवाह गरेर विदेशका लडाकु समूहमा सामेल भएका घटनाहरू सत्य भए पनि त्यसलाई पूरै केरलाको कथा भनेर भन्न नमिल्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । यही कुरालाई लिएर राजनीतिकरण गर्न र केरलामा घृणा फैलाउन नमिल्ने उनीहरूको तर्क छ । यसरी फिल्मको कथाभन्दा समाज ध्रुवीकरणमा जाने सम्भावना हुन्छ । तर यसले कतै न कतै भाजपालाई सहयोग पुग्ने उनीहरूको विश्लेषण छ । राजनीतिक दलहरूको भनाइ केरलाका मुख्यमन्त्री पिनराई विजयनले समेत यो फिल्म समाजमा साम्प्रदायिक सद्भाव बिगार्ने उद्देश्यले बनाइएको बताएका छन् । उनकै लयमा कांग्रेस नेता वीडी सतीशनले पनि फिल्मलाई ‘समाज बाँड्ने र बीजेपीको लगानीमा बनेको गलत प्रचार’ भनेका छन् । अर्कोतर्फ बीजेपी नेता राजीव चन्द्रशेखरले भने यसमा आफ्नो खासै चासो नरहेको र जोकसैलाई पनि फिल्म बनाउने अधिकार भएको बताएका छन् । साथै उनले अदालतले नै सबै कुराको निर्णय गर्ने धारणा राखेका छन् । यता अदालतले भने फिल्म रिलिज गर्न अनुमति दिइसकेको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित