
ehimalayatimes.com · Feb 22, 2026 · Collected from GDELT
Published: 20260222T024500Z
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल-भारत आर्थिक सहकार्य थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा सुरु भएको ‘दोस्रो इण्डो-नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन गर्दै उहाँले दुई देशबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना-मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुर्ई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको बताउनुभयो । उहाँले विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृंखलामा अवरोधको अवस्थामा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागिसमेत नयाँ अवसर सिर्जना गर्ने उहाँको भनाइ थियो । अध्यक्ष ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्य प्रस्तुत गरेको जानकारी गराउँदै होटल, रिसोर्ट तथा केबलकार परियोजनामा लगानीको अवसर विस्तार भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘नेपालमा उर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्दछु ।’ नेपालको निजी क्षेत्रले सधैं राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले दीर्घकालीन रूपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधारहरू भइरहेको पनि उल्लेख गर्नुभयो । उहाँले इण्डो-नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भन्दै अध्यक्ष ढकालले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवं लगानीकर्तालाई आह्वान गर्नुभयो । उहाँले राजनीतिक इच्छाशक्ति, नीतिगत स्थायित्व र आपसी विश्वासका आधारमा इण्डो-नेपाल आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, भारत सरकारका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धिया, संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह सेखावत, भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।