
ehimalayatimes.com · Feb 18, 2026 · Collected from GDELT
Published: 20260218T000000Z
नेपाली राजनीतिको मुख्य समस्याको पहिचानमा नै हामी अझैसम्म अल्मलिई रहेका छौं । समस्याको सतही पहिचान र रोग एकातिर उपचार अर्कोतिर हुँदा समस्याले विकराल रूप लिएको विषय- २०८२ भाद्र २४ गते राष्ट्रपति, प्रधानमन्त्री मन्त्रीहरूको भागाभागले प्रमाणित भयो । सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रका धरोहरहरू जल्दा सुरक्षाको अन्तिम अस्त्र मानिने सेनासमेत ती धरोहरहरू जोगाउन असफल हुनुभनेको राष्ट्र नै असफल भएको जबर्जस्त प्रमाण हो । अहिले आमजनमानसमा बहसको विषय के छ भने जसका कारणले यो बेथिति उत्पन्न भएको छ राष्ट्रको सेना तिनीहरूलाई जोगाउन लागिपर्यो तर जनताको साझा सम्पत्ति र प्रतिष्ठाको धरोहर सिंहदरबार र सर्वोच्च अदालत सहित अन्य संरचनाहरू जलिरहँदा सेना किन टुलुटुलु हेरिरह्यो ? इतिहासको यो निर्मम र संगीन प्रश्नको घेराबाट नेपाली सेना अब कहिल्यै उम्कन सक्दैन । राजनीतिक विद्रोहमा केही थान उच्चपदस्थलाई सुरक्षा दिने कि जनताको सम्पत्तिलाई जोगाउने भन्ने छनौटमा यदि सेना नचुकेको भए के हुन्थ्यो भन्ने जनताको प्रश्न अहिले होइन युगौंयुगसम्म ज्यूँकात्यूँ रहिरहनेछ । जसले खराब अभिनयमा पनि ताली बजाउन छोड्दैनन् । प्रश्न उठ्छ मुख्य समस्या नेताको भ्रष्ट चरित्र हो कि कार्यकर्ताको मृत चेतना ? गहिरिएर हेर्दा, नेताको भ्रष्ट चरित्र एउटा रोग हो भने कार्यकर्ताको मृत चेतना त्यो रोगलाई पाल्ने कुपोषण हो । कुपोषणको अन्त्य बिना रोग कसरी निको हुन्छ ? जहाँ चेतनाको मृत्यु हुन्छ, त्यहाँ मालाको व्यापार फष्टाउँछ र प्रश्नको घाँटी रेटिन्छ । हाम्रो राजनीतिको मुख्य समस्या भनेको नेताको भ्रष्ट चरित्र कि कार्यकर्ताको मृत चेतना भन्ने विषयमा अब गम्भीरतापूर्वक घोत्लिनुनै पर्छ । हामी दोष सधैं अर्कालाई दिने र आफूलाई सधैं दोषमुक्त देख्ने चरित्रको शुद्धीकरण वास्तवमा हाम्रा समस्याहरूको निकासको मुख्य बिन्दु हुनुपर्छ । समस्या नेताको भ्रष्ट चरित्र कि कार्यकर्ताको मृत चेतना ? भन्ने शीर्षकले नेपाली समाजको एउटा यस्तो ऐंजेरुलाई औँल्याएको छ कि जसले राष्ट्रको जरो नै खोक्रो बनाइरहेको छ । यो आलेखले नेताको कुमति र कार्यकर्ताको मृत चेतनाबीचको त्यो अपवित्र गठबन्धनलाई चिरफार गर्नेछ, जसले गर्दा आज देश एउटा आत्मघाती दुर्घटनाको सँघारमा उभिएको छ । भाद्र २३ र २४ मा परिवर्तनका बाहकहरूको चेतनाको मसानघाट र सत्ताको नग्न नृत्यको निर्मम चिरफारबिना शुद्धीकरणको चरण प्रारम्भ हुँदैन । नेपाली राजनीतिमा जुन नाटक मञ्चन भइरहेको छ, त्यसका नायकहरू जति दोषी छन्, त्योभन्दा बढी दोषी ती दर्शकहरू अर्थात् तिनका कार्यकर्ता छन्, जसले खराब अभिनयमा पनि ताली बजाउन छोड्दैनन् । प्रश्न उठ्छ मुख्य समस्या नेताको भ्रष्ट चरित्र हो कि कार्यकर्ताको मृत चेतना ? गहिरिएर हेर्दा, नेताको भ्रष्ट चरित्र एउटा रोग हो भने कार्यकर्ताको मृत चेतना त्यो रोगलाई पाल्ने कुपोषण हो । कुपोषणको अन्त्यबिना रोग कसरी निको हुन्छ ? जहाँ चेतनाको मृत्यु हुन्छ, त्यहाँ मालाको व्यापार फष्टाउँछ र प्रश्नको घाँटी रेटिन्छ । धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीतामा श्रीकृष्ण भन्नुहुन्छ ः ज्ञान प्राप्त गर्न प्रणिपात अर्थात् विनम्रतामात्र होइन, परिप्रश्न अर्थात् तार्किक प्रश्न पनि अनिवार्य छ । तर नेपाली राजनीतिमा कार्यकर्ताले प्रणिपात र सेवा त सिके, तर प्रश्न गर्न बिर्सिए । जब कार्यकर्ताले नेताको हरेक भ्रष्टाचारमा चातुर्य देख्न थाल्छ, त्यो उसको विवेकको अन्त्येष्टि हो । मुख्य समस्या कार्यकर्ता परीक्षक नबनेर प्रशंसक बन्नु हो । जब कार्यकर्ता प्रशंसक बन्छ, उसले नेताको चरणमा आफ्नो मस्तिष्क बुझाउँछ । यहीँबाट सुरु हुन्छ अहंकार, अस्थिरता र जडता । कार्यकर्ताको मृत चेतनाले नै यस्तो चरित्रलाई अजेय र अकाट्य भएको भ्रम दिन्छ । अहिले स्वार्थ र सेवाबीच द्वन्द्व चरमोत्कर्षमा छ । आर्थिक सूत्र वास्तवमा बिचौलिया प्रथा बन्यो । परिणाम उद्योगहरूको विनाश हुँदा परनिर्भरता अहिले हाम्रो मुख्य विशेषता भयो । दलका झोले कार्यकर्ता नै आजका बिचौलिया हुन् । सेवाका प्रतिमूर्तिका रूपमा रहेका पार्टीका कार्यकर्ता विचौलिया हुँदा उनीहरूले उत्पादनमूलक उद्योगभन्दा कमिसनको खेतीलाई मलजल गरे । परिणामस्वरूप समाज सेवाको आवरणमा दलालीको बीजारोपण भयो । त्यसको दुष्परिणाम हो युवा पलायन, बौद्धिक रिक्तता र सांस्कृतिक पतन । विवेकशील युवाहरू देशमा प्रश्न गर्ने ठाउँ नदेखेर पलायन भए । जसले गर्दा समाजमा केवल हो मा हो मिलाउने प्रशंसकहरूको बाहुल्यता रह्यो । प्रश्न गर्नेहरूलाई निर्यात गर्ने राज्य सञ्चालकहरूको योजना सफल भयो परिणामस्वरुप देश असफल हुने मार्गप्रशस्त भयो । यो नै नेपाल र नेपालीको दुर्भाग्यको मुख्य कारण हो । हिजो खाद्यान्नमा आत्मनिर्भर बनाउने ती खेतबारी अहिले बाँझा छन् । प्रश्न गर्ने युवा विदेशिदा दुर्भाग्य भ्रष्टाचार र कुशासनमा ख्यातिप्राप्त नेताका मञ्चहरू मालाले भरिएका छन् । जुन देशको मेरुदण्ड कृषि थियो, आज त्यही देश पीठोदेखि पिडालुसम्म आयातमा निर्भर छ । उद्योगको चिहान खन्न सरकार तल्लिन रह्यो । कार्यकर्ता उद्योग खोल्ने वातावरण बनाउनुको सट्टा चन्दा उठाउन र तालाबन्दी गर्न व्यस्त भए । स्वदेशी लगानी पलायन भयो । परिणामस्वरूप परनिर्भरताको विषवृक्ष झ्याँगियो । हामीले माटोलाई माया गर्न बिर्सियौं । पार्टीको झण्डालाई पूजा गर्न थाल्यौं । उपनिषद्ले भन्छ : अन्न प्रशस्त उब्जाउनु त्यो तिम्रो व्रत हो । तर हाम्रो व्रत त नेताको जयजयकार गर्नुमात्र भयो । आज स्थिति यस्तो छ कि बाहिरबाट चामल नआए हाम्रो भान्सामा चुल्हो बल्दैन । यो सबै हाम्रो मृत चेतनाको उपज हो । अहिलेको समस्याको निकास भनेको जनताले आफ्नो मृत चेतनालाई ब्यूँत्याउने यज्ञमा सक्रिय सहभागिता हो । त्यो यज्ञ हो निर्वाचनमा विवेकको प्रयोग । फेरि यहाँ विवेकको प्रयोगले पनि अहिल्यै निकास निस्कने अवस्था छैन किनकि निर्वाचनमा उम्मेदवारको छनौट प्रक्रिया त्रुटिपूर्ण छ । सबै पार्टीहरूमा योग्य उम्मेदवा चामलको बियाँ जस्तै छन । तसर्थ यो परिवेशमा जनताले विवेक प्रयोग गर्दा नतिजा सकारात्मक नहुने दुर्भाग्यपूर्ण अवस्थाको सिकार राज्य हुँदैछ । देशको भविष्य र ऊर्जाको रूपमा रहेको युवाशक्ति आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लामो लाइनमा तछाडमछाड गर्दैछ । किनकि यहाँ प्रश्न गर्नेलाई ठाउँ छैन, केवल माला लगाइदिनेलाई मात्र अवसर छ । जब योग्यताभन्दा झण्डा र क्षमताभन्दा चाकरीले प्राथमिकता पाउँछ, तब एउटा स्वाभिमानी युवाले देश छोड्नुबाहेक अर्को विकल्प देख्दैन । यो पलायन केवल मानिसको मात्रै होइन यो त देशको आशा र चेतनाको पलायन हो । गरुड पुराणमा भनिएको छ कि अन्धकारमा बस्नु पाप हो, तर अन्धकारलाई नै प्रकाश सम्झनु महापाप हो । कार्यकर्ताले नेताको कुमतिलाई नै राजनीतिक सुझबुझ सम्झने महापाप गरिरहेका छन् । नीतिशास्त्र भन्छ राजा, नेता नै समयको परिवर्तनको कारक हो । तर नेता-राजा नै कुमतिबाट ग्रसित छ र प्रजा अर्थात् कार्यकर्ता मृत चेतना बोकेर हिँड्छन् भने त्यो राज्यको विनाश अवश्यम्भावी छ । हामीलाई जिन्दावादभन्दै नेतालाई देवता बनाउने भक्त होइन बरू नेतासँग आँखा जुधाएर प्रश्न सोध्ने नागरिकहरूको खाँचो छ । माला होइन हिसाब देऊ, ताली होइन नतिजा देऊ भनौं जो एउटा वैचारिक बम हुनेछ । यो नाराले कार्यकर्तालाई सेवकबाट लेखापरीक्षक र नेतालाई शासकबाट उत्तरदायी सेवकमा बदल्ने तागत राख्छ । यो आत्मघाती यात्रालाई रोक्ने एकमात्र उपाय कार्यकर्ताको मस्तिष्कको पुनर्जन्म हो । प्रशंसकबाट परीक्षकमा रूपान्तरण गर्ने रणनीति र कार्यदिशा हो । त्यसका लागि कार्यकर्ताले नेताको घोषणापत्र र उसको जीवनशैलीबीचको अन्तर जाँच्नुपर्छ । युवाहरूले स्वागतमा माला होइन, कार्यप्रगतिको श्वेतपत्र माग्ने संस्कार बसाल्नुपर्छ । अब उत्पादनमुखी राजनीतिको सूत्रपात समस्याको समाधान हो, नकि राजनीतिलाई कमाउने पेशा बनाउने ? अब राजनीतिलाई कमाउने पेशा होइन, उत्पादनको उत्प्रेरक बनाउनुपर्छ । जबसम्म कार्यकर्ताले खेत, कारखानालाई झण्डा र नाराभन्दा बढी महत्व दिँदैनन्, तबसम्म देश परनिर्भर नै रहन्छ । अहंकारी नेताहरू समस्याका लक्षणमात्र हुन्, रोग हामीभित्रको प्रलोभन चाकरी हो । अब कार्यकर्ताको चेतना ब्युँझिँदैन भने यो व्यवस्था देशका लागि आत्मघाती सावित हुनेछ । आत्मा, राष्ट्रियता र स्वाभिमानलाई खरानी बनाइदिनेछ । अबको यात्रा माला उचाल्ने हातहरूलाई प्रोत्साहित गर्न होइन, बरू हलो र कलम चलाउने मस्तिष्कलाई प्रोत्साहित गर्ने हुनुपर्छ । चेतनाको पुनर्जागरण त्यो उज्यालो हो, जसले चाकरीको अन्धकारलाई चिरेर देशलाई दुर्घटनाबाट बचाउन सक्छ । हाम्रा धार्मिक ग्रन्थहरूले सिकाएको सत्यं वद, धर्मं कुरू, सत्य बोल, धर्मको पालना गर को आदर्शलाई कुल्चेर नेताको भजन गाउँ, आफ्नो स्वार्थ पूरा गर भन्ने नयाँ विकृत धर्मको उदय हुन्छ त्यहाँ देशको समस्याको निकास कुनै नयाँ अनुहारको आगमनबाट वा व्यवस्थाको परिवर्तनबाट मात्र सम्भव छैन । नेताको भ्रष्ट चरित्र हुनु एउटा घटना हो, कार्यकर्ताले त्यसलाई जोगाइरहनु अर्को राष्ट्रिय दुर्घटना हो । मालाले छोपिएको अन्धकारबाट बाहिर निस्केर प्रश्नको उज्यालो समात्नु नै आजको वास्तविक पुनर्जागरण हो । हामीलाई जिन्दावादभन्दै नेतालाई देवता बनाउने भक्त होइन बरू नेतासँग आँखा जुधाएर प्रश्न सोध्ने नागरिकहरूको खाँचो छ । माला होइन हिसाब देऊ, ताली होइन नतिजा देऊ भनौं जो एउटा वैचारिक बम हुनेछ । यो नाराले कार्यकर्तालाई सेवकबाट लेखापरीक्षक र नेतालाई शासकबाट उत्तरदायी सेवकमा बदल्ने तागत राख्छ । अहिलेका नेताहरूले कार्यकर्ताको मृत चेतनालाई आफ्नो कवच बनाएका छन् । कार्यकर्ताले माला होइन हिसाब देऊ भन्न थाल्छन् त्यो कवच स्वतः टुट्छ । हिसाब माग्ने एउटा नागरिक ताली बजाउने कार्यकर्ताभन्दा शक्तिशाली हुन्छ । यो वाक्य लोकतन्त्रको ब्रह्मास्त्र हो । यसले संख्या र शक्तिबीचको भ्रमलाई चिरेर विवेकको श्रेष्ठता प्रमाणित गर्दछ । हजारौंको भिडले अन्धकार फैलाउन सक्छ, सचेत नागरिकको प्रश्नले अन्धकारलाई चिर्ने प्रकाश दिन्छ । त्यसका लागि नागरिकको चेतनाको पुनर्जागरण अनिवार्य शर्त हो ।