
ehimalayatimes.com · Feb 15, 2026 · Collected from GDELT
Published: 20260215T010000Z
आजको अवस्थामा : ओलीको प्रतिरक्षात्मक बाध्यता, प्रचण्डको खेल, गगनको नारा, रवि बालेनको चाल, लिङ्देनको धर्म, हर्क कुलमानको मर्म, उपेन्द्रको भ्रम, सिकेको सपना, यतिमा नै परिभ्रमित छ प्रतिनिधिसभा निर्वाचन-२०८२ । यहाँ न जनता छन् न देश । न पहाड छ न मधेस । न लोकतान्त्रिक सिद्धान्त छ न चरित्र र व्यवहार । सपना बेचेर साधु बन्ने यिनीहरूले दिएको भ्रमभित्र अबका केही दिन मेरो आलेख पनि परिभ्रमण गर्नेछ । हिमालय टाइम्स राष्ट्रिय दैनिक र हिटा अनलाइन (अंग्रेजी र नेपालीमा समेत) क्रमशः प्रकाशित हुनेछ । पहिले आरम्भ गरौं : सर्वाधिक चर्चाको शीर्षमा रहेको रास्वपाका विषयमा केही अंक । (क) रास्वपा : पुरानो तर गम्भीर प्रसंग : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादका कारण प्रतिनिधिसभाको सदस्यता खारेज भएको थियो । खारेजको लगत्तै आश्चर्यजनक रूपमा एकै दिन उहाँले नयाँ नागरिकताको प्रमाणपत्र पाउनुभयो । नयाँ नागरिकताका आधारमा चितवनबाट पुनः निर्वाचन जित्नुभयो । तर उहाँको दोहोरो नागरिकता र पासपोर्ट विवादमाथि पुनः मुद्दा दर्ता भयो । चितवनका मतदाताको अपार समर्थन पाएर विजयी रविको क्रेज अद्भूत थियो । रविको यही क्रेजको वैशाखीमा उभिएर तनहूँको १ नम्बरमा पनि रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी भएर आएका थिए र चौथो ठूलो दल बनेको थियो । रविजीले आँसु खसाल्दै भन्नुभयो : अमेरिका छाडेर म देशको सेवा गर्न आएको हूँ । फेरि नागरिकताको मुद्दा परेमा मेरो राजनीतिक जीवनको पूर्ण अवशान हुनेछ । रास्वपालाई भाइ माओवादी सम्झनु होस्, म हरहालतमा तपाईंलाई सहयोग गर्नेछु । तपाईंसँग ३२ सिट छ, मेरा जोड्दा ५३ हुनेछ । म सदा तपाईंको नै हुनेछु । तर दोस्रो पटक दर्ता भएको मुद्दा फौज्दारी अर्थात् सरकारवादी थियो । यो मुद्दा चलाएको भए रविको संपूर्ण राजनीतिक जीवन समाप्त हुने निश्चित थियो । तर विसं २०७९ चैत ६ गते महान्याधिवक्ताको कार्यालयले मुद्दा न चलाउने निर्णय अत्यन्त नाटकीय रूपमा सुनायो । फौजदारी अभियोगको मुद्दा किन नचल्ने भनेर महान्यायाधिवक्ताले निर्णय गरे यो आफैंमा रहस्यपूर्ण छ । कुन दबाब र कसको निर्देशनमा यस्तो निर्णय गरेका हुन् त्यो त त्यस समयका महान्यायाधिवक्ता दीनमणि पोख्रेललाई नै थाहा होला । (ख) दर्ता रोक्ने प्रचण्डको त्यो आदेश : कुनै एक दिन साँझको समयमा तत्कालीन सरकारका एकजना महत्वपूर्ण मन्त्रालय सम्हालेका मित्रसँग सम्वादसहितको भोजनक्रममा यो प्रश्नको रहस्य खुलेको थियो । आज म ती मन्त्री मित्रको नाम उल्लेख गर्नु उचित ठान्दिनँ । तर उहाँले भन्नुभए अनुसार : मुद्दा दर्ता गर्ने तयारी रहेको अवस्थामा अघिल्लो दिन अकस्मात् रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न आग्रह गर्दै बालुवाटार पुग्नुभयो र सिधै प्रधानमन्त्रीका गोडा समातेर आफूलाई जोगाइदिन, दर्ता हुन तयार मुद्दा फिर्ता लिन र आफ्नो राजनीतिक सपना तुहुन नदिन अनुरोध गर्नुभयो । रविजीले आँसु खसाल्दै भन्नुभयो : अमेरिका छाडेर म देशको सेवा गर्न आएको हूँ । फेरि नागरिकताको मुद्दा परेमा मेरो राजनीतिक जीवनको पूर्ण अवशान हुने छ । रास्वपालाई भाइ माओवादी सम्झनु होस्, म हरहालतमा तपाईंलाई सहयोग गर्नेछु । तपाईंसँग ३२ सिट छ, मेरा जोड्दा ५३ हुनेछ । म सदा तपाईंको नै हुनेछु । गोडामा नै झुण्डिएर रविको यो विलाप र अनुनयपछि लगत्तै महान्यायधिवक्तालाई बालुवाटार बोलाउनुभयो र प्रधानमन्त्री दाहालले कडा निर्देशन दिनुभयो : रविजीको मुद्दा कुनै हालतमा पनि चल्नु हुँदैन । नाटकीय आदेश गर्दाको त्यो दृश्य कस्तो थियो लामो हुने भएकाले यहाँ उल्लेख गर्न सम्भव भएन । अन्ततः प्रधानमन्त्री दाहालको आदेश अनुसार नै भोलिपल्ट अर्थात् २०७९ चैत ६ गते महान्यायाधिवक्ताले त्यो फौज्दारी अभियोग नचल्ने निर्णय सुनाएर दर्ता हुन दिनुभएन । (ग) सबैको तारोमा रास्वपा : त्यो प्रसंग बारे थप भनिरहनु पर्दैन होला । तर मलाई अहिले आश्चर्य लागि रहेको छ । गएको तीन वर्षयता जसरी रविको चर्चा निरन्तर छ त्योभन्दा बढी चर्चा अहिले रास्वपामा बालेन्द्र शाह जोडिएपछि भइरहेको छ । निर्दलीय पञ्चायतकालमा राजावादी, निर्दलवादी, विभिन्न घटकमा विभाजित कम्युनिष्टहरू सबैको तारो नेपाली कांग्रेस र बीपी कोइराला रहनुभएको थियो । हामी जस्ता दुश्यका धेरै साक्षीहरू आज पनि छौं । भदौ २३ र २४ का दुःखद्, रहस्यपूर्ण र नाटकीय अराजकताका घटनाले सिर्जना गरेको राजनीतिको पटाक्षेप आउँदो २१ गते सम्पन्न हुने निर्वाचनबाट हुने धेरैको अपेक्षा छ । निर्वाचनकै सन्दर्भमा यतिखेर : रास्वपाविरुद्ध नेकपा एमाले, रास्वपाविरुद्ध नेपाली कांग्रेस, रास्वपाविरुद्ध नेपाली कम्युनिष्ट पार्टी , रास्वपाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी, रास्वपाविरुद्ध हर्क साम्पाङ र कुलमान घिसिङ, अनि रास्वपाविरुद्ध राष्ट्रवादी र धर्मपरायण बुद्धिजीवीहरू । अर्थात् एकापट्टि राष्ट्रिय स्वतन्त्र पार्टी र अर्कातिर उल्लिखित सम्पूर्ण नेपाली राजनीतिक शक्ति । केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी यसका सभापति रवि र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह । अहिले रास्वपाभन्दा बढी कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, श्रमसंस्कृति पार्टी र उज्यालो पार्टीका नेता कार्यकर्ता र प्रचारकहरूले घण्टीको प्रचार गरिरहेका छन् । बदलिएको नारा दिने नेपाली कांग्रेस त चारताराबाहेक चुनाव चिह्न बोकेर हिँडेको देखिँदैन । भाषणमा घण्टीबाहेक केही बोलेको सुनिँदैन । यसरी सबैको तारोमा रवि पर्नु अकारण भने छैन । (घ) अभियोगले निर्मित जहाज रोकिएको छैन रविको : रवि लामिछाने यतिखेर सहकारी ठगी काण्डमा मुद्दा खेपिरहेका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग पनि छ । उनका पार्टीका अधिकांश चर्चित अनुहार र उम्मेदवारहरू कुनै न कुनै काण्ड वा विवादमा फँसेको देखिन्छ । तर पनि जनमतका आधारमा रास्वपा सर्वाधिक चर्चामा सुनिन्छ । किन होला ? यी मध्ये रवि, बालेन र स्वर्णिमको चर्चा धेरै छ । हुन त एकजना उमेदवारले सनातन हिन्दु धर्मावलम्बीहरूलाई अपमानित गर्दै सार्वजनिक रूपमा नै गाई काटेर नेपालमा खान पाउनुपर्छ भन्ने माग गरेको सुनियो । आफू अमेरिकामा महिनाको एक लाख डलर कमाइ गरिरहेको (आजको दरमा नेरु करिब एक करोड चालीस लाख) भइरहेको, अमेरिकी तत्कालीन एउटा राष्ट्रपतिले असी हजार रुपैयाँ खाइदिएको जस्ता कुराले त नेपाली जनलाई कुवेर नै ओर्लिए जस्तो अनुभव गराउन पुग्यो । उनको यो कुरा ती मानिसले मात्रै पत्याउँछन् : जो अमेरिका पुगेका छैनन्, जसले अमेरिकी जीवन बुझेका छैनन्, जसलाई अमेरिकामा पुगेका नेपालीहरूको परिश्रम र अवस्थाबारे जानकारी छैन । उनले मानव अधिकारका नाममा समान हैसियतको प्रश्न उठाएका थिए । यस्तै प्रश्न उठाउँदा पहिलो कम्युनिष्ट सरकारका मन्त्री पद्मरत्न तुलाधरको मन्त्री पद गुमेको कुरा उनले बिर्सिएछन् । संसारका हरेक देशमा मौलिक संस्कृति र प्रयोग हुन्छन् । तिनलाई अन्तर्राष्ट्रिय सिद्धान्तका आधारमा व्याख्या गर्न सम्भव हुँदैन । रास्वपाका ती उम्मेदवार वास्तवमा नै नेपाली समाजलाई भाँड्न सक्रिय जस्ता छन् र नै विवाद भएको छ । अर्की एउटी कानुनी क्षेत्रबाट रास्वपाकी उम्मेदवार छिन् । उनी यसअघि पनि प्रतिनिधिसभा सदस्य थिइन् । उनले भनिन् : बलात्कार भए पनि सहमतिमा हुन्छ भने त्यो मान्य हुन्छ । त्यस्तो बलात्कार एक झापड दिएभन्दा महत्वको हुँदैन । अर्थात् बलात्कृत बालिकाले एक झापड खाएसरहमात्रै त्यो कूकृत्यलाई स्वीकार गरे पुग्छ । कानुनी उपचारतिर लाग्नु आवश्यक छैन । अनि केही उम्मेदवार छन् उनीहरूको मतदातासँग गर्ने प्रतिबद्धता विजयी भएमा रास्वपा सभापति र प्रधानमन्त्रीलाई जिल्लामा ल्याउने वा एउटै मञ्चमा भाषण गराउने रहेको छ । देख्ता यस्ता चमत्कारी कुराहरू रास्वपासँग धेरै छन् । तर जनता जनार्दन हुन् । उनीहरूको समर्थनले सबै पाप पखालिने हुन्छ लोकतन्त्रमा । अहिलेको घण्टी क्रेज त्यस्तै पाप पखाल्ने गरी उर्लिएको देखिन्छ । (ङ) रवि क्रेजको पृष्टभूमि : करिब दुई दशकसम्म अमेरिकाको सैर गरी नेपाल फर्केका, सामान्य लेखपढ गर्न जान्ने, नाला क्षेत्रको जीवनबाट शहरी जीवनमा पदार्पण गरेका अलि आकर्षक शरीर संरचनाका कारण धेरैविपरीत लिंगीहरूको नजरका नानी रवि अकस्मात् टेलिभिजनको पर्दामा पुग्नासाथ उनले केही नयाँ काम गर्ने सोच बनाए र उनले सबैभन्दा लामो समय अन्तर्वार्ता लिने रेकर्ड कायम गरे । उनको यो रेकर्ड पत्रकारिता क्षेत्रमा लाग्नेहरूका लागि सामग्री हुनसक्छ । यही सफलताको उत्कर्षमा उनले सिधा कुरा जनतासँग कार्यक्रममार्फत भ्रष्टाचार, अन्याय, व्यभिचार, अलोकतान्त्रिक आचरण र व्यवहारविरुद्ध आक्रामक तेबवर देखाएर र हरेक तहका जिम्मेदारका दाँतमा, अनुहारमा पसिना चुहाइ दिए । बोल्न नसकेर प्याक्प्याकति परेका प्रशासनका हाकिमहरूको मुख हेर्दा पीडितहरू प्रसन्न हुन्थे । रविको क्रेजको सूत्रपात यहीबाट देखिन्छ । अझ उनले आफू अमेरिकामा महिनाको एक लाख डलर कमाइ गरिरहेको (आजको दरमा नेरु करिब एक करोड चालीस लाख) भइरहेको, अमेरिकी तत्कालीन एउटा राष्ट्रपतिले असी हजार रुपैयाँ खाइदिएको जस्ता कुराले त नेपाली जनलाई कुवेर नै ओर्लिए जस्तो अनुभव गराउन पुग्यो । उनको यो कुरा ती मानिसले मात्रै पत्याउँछन् : जो अमेरिका पुगेका छैनन्, जसले अमेरिकी जीवन बुझेका छैनन्, जसलाई अमेरिकामा पुगेका नेपालीहरूको परिश्रम र अवस्थाबारे जानकारी छैन । अर्थात् रविले नेपालमा बस्ने नेपालीहरू कि सरल छन् कि सबै मूर्ख छन् र यही मूर्खता र सज्जनताको शोषण गर्नु सम्भव छ भन्ने सोच बनाएपछि राजनीतिको मैदानमा प्रवेश गरेको देखिन्छ । हुन त राजधानीको महानगरदेखि सुनसरीको धरान र कैलालीको धनगढी जस्ता चर्चित नगरहरूमा राजनीतिक नेतृत्वको अहंकारमाथि घनप्रहार गर्दै स्वतन्त्र उम्मेदवारहरू मेयरमा विजयी भएको उदाहरण र ऊर्जा पनि उनले प्राप्त गरेको देखिन्छ । तर उनले अमेरिका बसाइलाई कुन रूपमा प्रयोग गरे भन्ने दुइटा सामग्रीहरूले चर्को स्वरमा घण्टी बजाइरहेकातर्फ कसैको ध्यान पुगेको छैन । ती दुइटा सामग्री हुन् : मेरिल्याण्ड राज्यमा दर्ता भएका रविविरुद्धका नौवटा मुद्दाहरू र नेपाली नागरिकता परित्याग गर्दै अमेरिकी नागरिकता लिँदा गरिएको शपथ ग्रहण पत्र । यी पत्रको विषयवस्तु बुझ्नु जरुरी छ भन्ने मलाई लाग्छ । (क्रमशः भोलिको अंकमा )