
ehimalayatimes.com · Feb 15, 2026 · Collected from GDELT
Published: 20260215T010000Z
दक्षिण एशियाली राजनीतिक इतिहास फेरि एकपटक मोडिएको छ । दुई दशकको उतार-चढाव, आन्दोलन, निर्वासन र आरोप-प्रत्यारोपको आँधीपछि बंगलादेश नेसनलिष्ट पार्टी (बिएनपी) पुनः सत्ताको शिखरमा उक्लिएको छ । १३औं संसदीय निर्वाचनमा दुईतिहाइभन्दा बढी बहुमतसहित आएको यो परिणाम केवल दलको विजय होइन, बंगलादेशी जनमतको नयाँ सन्देश पनि हो । कुल ३०० सिटमध्ये २९९ मा निर्वाचन हुँदा बिएनपीसम्बद्ध गठबन्धनले २१६ सिट जित्नु राजनीतिक अंकगणितमात्र होइन, सत्ताको नयाँ अध्याय उद्घोष गर्ने जनादेश हो । यो जनादेशको केन्द्रमा हुनुहुन्छ तारिक रहमान । आमाको निधनपछि पार्टीको बागडोर सम्हाल्नुभएका उहाँ अब देशको कार्यकारी नेतृत्व सम्हाल्ने दाबीमा उभिनुभएको छ । उहाँका समर्थकहरू उहाँलाई आशाको नयाँ अनुहारका रूपमा प्रस्तुत गरिरहेका छन् भने विपक्षीहरू विगतका भ्रष्टाचार आरोप र शैक्षिक योग्यतामाथि प्रश्न उठाइरहेका छन् । तर, बिएनपीले ती सबै आरोपलाई अस्वीकार गर्दै यसलाई अघिल्लो अवामी लिग सरकारको ‘राजनीतिक प्रचार’ मात्र ठहर गरेको छ । तारिक प्रधानमन्त्री बनेपछि ३५ वर्षपछि बंगलादेशले पुरुष प्रधानमन्त्री पाएको छ । सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेपछि देशको राजनीति दुई शक्तिशाली महिला नेतृहरूको वरिपरि घुमिरह्यो शेख हसिना र खालिदा जिया । १९९१ देखि २०२४ सम्मको कालखण्ड उहाँहरूको प्रभावले परिभाषित भयो । अब त्यो अध्याय सकिएको संकेत यो निर्वाचनले दिएको छ । तर, यो चुनाव केवल नियमित लोकतान्त्रिक अभ्यासको निरन्तरता होइन । १८ महिनाअघि विद्यार्थी आन्दोलनले सरकार ढालेको थियो । सन् २०२४ को जुलाईमा भएको विद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छाड्न बाध्य बनायो । आन्दोलनमाथि गरिएको दमनमा करिब १४ सय विद्यार्थी मारिएको आरोप लाग्यो । त्यसपछि अन्तरिम सरकार गठन भयो, अवामी लिग प्रतिबन्धित भयो र राजनीतिक मैदान नयाँ शक्ति समीकरणका लागि खुला भयो । यही आन्दोलनबाट उदाएको राष्ट्रिय नागरिक पार्टी (एनसिपी)लाई भने मतदाताले अपेक्षित समर्थन दिएनन् । २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि स्थापित यो दलले यसपटक जम्मा ६ सिट जितेको छ । जनआन्दोलनको ऊर्जालाई निर्वाचनमा रूपान्तरण गर्न नसक्नु आन्दोलन र संस्थागत राजनीतिबीचको दूरीको उदाहरण बनेको छ । आन्दोलन सडकमा जित्न सकिन्छ, तर सत्ताको सिंहासन मतपेटिकाबाटै प्राप्त हुन्छ यो यथार्थ फेरि पुष्टि भएको छ । बंगलादेशको यो परिणामले लोकतन्त्रको अर्को पाठ पनि सिकाएको छ राजनीति अन्ततः संगठन, धैर्य र दीर्घकालीन रणनीतिमा टिक्छ । बिएनपीका संस्थापक जियाउर रहमानको हत्या भएपछि पार्टी नेतृत्व सम्हालेकी खालिदा जियाले जस्तै अहिले तारिक रहमानले कठिनकालखण्डमा पार्टीलाई एकताबद्ध राख्न प्रयास गरे । सन् २००७ मा पक्राउ, जेल जीवन, लण्डन निर्वासन र १७ वर्षपछि स्वदेश फर्किनु यी सबै प्रसंगहरूले उहाँलाई ‘डार्क प्रिन्स’को राजनीतिक छविमा उभ्याएको छ । अन्तर्राष्ट्रिय समुदायले पनि नयाँ सरकारप्रति चासो देखाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत बधाई दिनुभएको छ । चीन, पाकिस्तान र अमेरिकाले पनि शुभकामना व्यक्त गरेका छन् । दक्षिण एशियाली भू-राजनीतिमा बंगलादेशको भूमिका महत्वपूर्ण रहेकाले नयाँ नेतृत्वको कूटनीतिक सन्तुलनले क्षेत्रीय समीकरणमा असर पार्नेछ । तर, सबैले यो परिणाम सहजै स्वीकारेका छैनन् । निर्वासनमा रहेनुभएकी शेख हसिनाले चुनावलाई ‘पूर्वनियोजित र कपटी’ भन्दै अस्वीकार गर्नुभएको छ । मतदान केन्द्र कब्जा, गोली चलाइएको, मतपत्रमा जबरजस्ती छाप लगाइएको जस्ता आरोपहरू सार्वजनिक भएका छन् । लोकतन्त्र केवल परिणामले होइन, प्रक्रियाले पनि वैध हुन्छ । यदि प्रक्रियामाथि प्रश्न उठ्छ भने विजयी सरकारमाथि नैतिक दबाब सधैं रहन्छ । बंगलादेशको यो कथा नेपालका लागि पनि सान्दर्भिक छ । गत भदौमा नेपालमा पनि ‘जेन-जी’ आन्दोलनले सरकार परिवर्तन गरायो । अब फागुन २१ मा हुने निर्वाचनले त्यही ऊर्जालाई कसरी संस्थागत गर्छ भन्ने प्रश्न हाम्रो सामु छ । बंगलादेशले देखाएको छ आन्दोलनले सत्ता ढाल्न सक्छ, तर स्थायी परिवर्तनका लागि मतदाता, संगठन र स्पष्ट दृष्टि आवश्यक हुन्छ । आज बंगलादेश नयाँ अध्यायको दैलोमा उभिएको छ । जनादेश स्पष्ट छ, अपेक्षा विशाल छन्, र चुनौतीहरू अझ गहिरा । दुई दशकपछि फर्किएको दलले विगतको तिक्तता भुलेर समावेशी शासन दिनसक्छ कि सक्दैन ? भ्रष्टाचारका आरोप र लोकतान्त्रिक प्रक्रियामाथिका प्रश्नहरूलाई पारदर्शिताले सम्बोधन गर्न सक्छ कि सक्दैन ? लोकतन्त्र नदीजस्तै हो कहिले शान्त, कहिले उग्र, तर अन्ततः निरन्तर बगिरहने । बंगलादेशको राजनीतिमा आएको यो बाढीले पुराना किनाराहरू भत्काएको छ, नयाँ धार बनाएको छ । अब त्यो धारले देशलाई स्थायित्व र समृद्धितर्फ लैजान्छ कि फेरि अर्को आँधी निम्त्याउँछ त्यो समयले बताउनेछ । तर, आजका लागि, जनमतले एउटा सन्देश दिएको छ परिवर्तन सम्भव छ, तर त्यसको उत्तरदायित्व पनि उतिकै गम्भीर हुन्छ । दक्षिण एशियाली राजनीतिमा देखिएको यो परिवर्तन केवल एक देशको सत्ता फेरबदलमात्र होइन, लोकतान्त्रिक यात्राको निरन्तर परीक्षण पनि हो । बंगलादेश नेसनलिष्ट पार्टीको पुनरागमनले मतदाताको धैर्य, असन्तोष र अपेक्षाको सम्मिलित अभिव्यक्ति देखाएको छ भने तारिक रहमानको नेतृत्व अब परीक्षा-कालमा प्रवेश गरेको छ । जनादेश बलियो हुँदा जिम्मेवारी अझै गहिरो हुन्छ-विशेषतः जब निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठेका छन् र समाज ध्रुवीकरणको छायाँमा छ । लोकतन्त्रको सार केवल बहुमत होइन, विश्वसनीय प्रक्रिया, पारदर्शी शासन र समावेशी संवाद हो । यदि नयाँ सरकारले प्रतिशोधको राजनीतिभन्दा माथि उठेर संस्थागत सुधार, आर्थिक पुनरुत्थान र नागरिक स्वतन्त्रताको संरक्षणमा ठोस कदम चाल्नसक्छ भने यो जनादेश दीर्घकालीन स्थिरतामा रूपान्तरण हुनसक्छ । तर, वैधतामाथि उठेका शंका सम्बोधन नगरी अघि बढ्दा राजनीतिक अस्थिरता पुनः दोहोरिन सक्छ । नेपालसहित समग्र दक्षिण एशियाका लागि सन्देश स्पष्ट छ-आन्दोलनले ढोका खोल्छ, तर लोकतन्त्र टिकाउने काम संस्थाहरूले गर्छन् । शक्तिशाली जनादेश अवसर हो, त्यसलाई विश्वासमा बदल्नु नेतृत्वको परिपक्वतामा निर्भर हुन्छ । परिवर्तन सम्भव छ, तर त्यसको स्थायित्व उत्तरदायी शासन, विधिको शासन र नागरिक विश्वासमै निहित रहन्छ ।