NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TrumpMajorMilitaryStrikesFebruaryIranAnnouncesIranianNewsAdditionalDigestSundayTimelineYearNuclearTargetingGameHumanoidGlobalMarketNipahLimitedChineseCampaign
TrumpMajorMilitaryStrikesFebruaryIranAnnouncesIranianNewsAdditionalDigestSundayTimelineYearNuclearTargetingGameHumanoidGlobalMarketNipahLimitedChineseCampaign
All Articles
सञ्जालको लोकप्रियता रोज्ने कि नेतृत्वको क्षमता ?
onlinekhabar.com
Published 7 days ago

सञ्जालको लोकप्रियता रोज्ने कि नेतृत्वको क्षमता ?

onlinekhabar.com · Feb 16, 2026 · Collected from GDELT

Summary

Published: 20260216T061500Z

Full Article

राजनीति स्थिर देखिए पनि समयसँगै जनताको चेतना, आकाङ्क्षा र अपेक्षा परिवर्तन भइरहन्छन्। जब राजनीतिक दलहरू जनताको चेतना, आकाङ्क्षा र अपेक्षाहरूलाई बुझ्न असफल हुन्छन्, त्यतिबेला समाजले विकल्प खोज्न थाल्छ। विकल्पको खोजी कुनै आकस्मिक राजनीतिक घटना होइन; यो लामो समयदेखि सञ्चित असन्तुष्टि, निराशा र परिवर्तनको चाहनाबाट उत्पन्न हुने सामाजिक प्रक्रिया हो। जब पुराना दलहरू र नेतृत्वले समाजका प्रश्नहरूको उत्तर दिन सक्दैनन्, त्यतिबेला नयाँ विचार, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कारको दाबी गर्दै वैकल्पिक राजनीतिक दलहरू जन्मिन्छन्। पुराना दलहरू नयाँ चुनौती र आवश्यकतासँग जुध्न र पूरा गर्न सक्दैनन्, तब समाज स्वाभाविक रूपमा नयाँ विकल्पतर्फ हेर्न थाल्छ। यही सामाजिक प्रक्रियाबाट वैकल्पिक राजनीतिक दल जन्मिन्छन्। विश्वभरिका परिघटनाले यस कुराको पुष्टि गर्दछ। समाजशास्त्री एन्थोनी गिडेन्सले भनेझैँ, आधुनिक समाजमा राजनीति पनि निरन्तर रूपान्तरण हुनुपर्छ। युवा पुस्ताको चेतना, प्रविधिको प्रयोग, पारदर्शिता र सहभागितामूलक शासन आजको आवश्यकता हो, जुन परम्परागत दलहरूले पर्याप्त रूपमा सम्बोधन गर्न सकेका छैनन्। यदि राजनीति समयानुकूल परिवर्तन भएन भने, त्यो समाजभन्दा पछाडि पर्छ। परिवर्तनलाई अस्वीकार गर्ने राजनीतिक संरचनाले अन्ततः प्रतिरोध, विद्रोह वा वैकल्पिक शक्तिको सामना गर्नुपर्छ। यही कारण विश्वभर क्षणभरमा विद्रोह सल्किएको छ। गत भदौ २३ र २४ को विद्रोहमा कुनै खास उमेर समूहको नाम बाहिर आए पनि आन्दोलनकारीमाथिको हिंसा, हत्या र भोलिपल्टको विध्वंसका पछाडि धेरै कारणहरू छन्। रूपान्तरण हुन नसकेको राजनीति प्रमुख कारण हो। सत्ता र शक्तिका लागि ठूला तीन दलहरूको सिन्डिकेट दोस्रो कारण हो। मुलुकको भूराजनीतिक जटिलता र संवेदनशीलतामाथिको असन्तुलन तेस्रो कारण हो। आन्दोलनको अग्रमोर्चामा ‘जेन–जी‘ देखिए तापनि भदौ २३ र २४ गतेको हत्या, हिंसा र विध्वंसका यिनै तीन कारण हुन्। भदौ २३ को सरकारको दमन र हत्याहिंसाविरुद्ध सामाजिक सञ्जालमा ठूलो विद्रोह चल्यो, तर मुलुकको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका जल्दा कुनै नागरिकबाट आगो निभाउने चेष्टा भएन; सञ्जालमा संरक्षणको कुनै शब्द भेटिएन। आन्दोलनकारीबाट नेताहरूको घर जल्यो, लखेटिए, कुटिए, अमानवीय तरिकाले सुरक्षाकर्मीहरू मारिए, तर नागरिकको मन जलेन; उल्टै आन्दोलन दमन गरेको भन्दै आक्रोशले सडक र सञ्जाल भरियो। पुराना दल र छिप्पिएको बेथितिले मुलुक जले पनि नागरिकहरू खरानी हेरेर शान्त रहे। सत्ता, शासक, दलहरू र नेताप्रति जनताको करुणा जागेन। सिंहदरबार ढुङ्गा र माटोको भौतिक संरचना मात्र होइन, यो राजनीतिक इतिहास, शासन व्यवस्था र राष्ट्रिय पहिचानको प्रतीक हो। जनताको विश्वास, सङ्घर्ष, आशा र अस्मिताको प्रतिनिधित्व हो। तर, राज्य र नागरिकबाट कुनै संरक्षण पाएन। मुलुकले सन् १९९१ पछि करिब एक दर्जन राजनीतिक आन्दोलन भोगे पनि भदौ २४ को जस्तो राज्यको भौतिक सम्पत्ति, व्यक्तिका निजी घर र कमर्सियल भवनहरूमाथिको विध्वंस भोगेको थिएन। सत्तामा लिप्त दलहरू भ्रष्टाचारको नशाले झुम्म थिए। दलहरूको कुशासन र भूराजनीतिले अनुकूल अवस्था पर्खिएको थियो। आन्दोलन स्वचालित र परिचालित दुवै थियो। विभिन्न लेपमा खरिद पात्रहरू समाजमा गहिरो गरी परिचालित थिए। सामाजिक सञ्जाल पूर्णतः परिचालित पात्रहरूको नियन्त्रण र सञ्चालनमा थियो। पेसा र सेवाले समाजमा स्थापित वर्ग नै यो विध्वंसमा अगाडि थिए। भ्रष्टाचारविरुद्धको नारामा उठान गरिएको आन्दोलन ‘जेन–जी‘ को नेतृत्वमा सुरु हुँदा नै हाइज्याक भइसकेको थियो। आन्दोलन उठान गर्ने उमेर समूह घुसपैठको आशङ्कापश्चात् माइतीघरबाटै त्रासले लुकिसकेको थियो। दलहरूप्रतिको नागरिक वितृष्णा, सरकारको दमनविरुद्धको नागरिक प्रतिशोधलाई परिचालित शक्तिले हतियार बनाएर विध्वंस मच्चाएको हो। बिनातयारी देशैभरिको यति ठूलो विध्वंस सम्भव थिएन र छैन। सरकार र दलहरूको कुशासनबाट दिक्क नागरिकहरू जति नै विध्वंस भए पनि मौन रहे। दुई दिनको आन्दोलन र विध्वंसमा ६ दर्जनभन्दा बढी नागरिकको मृत्यु भयो, सयौँ घाइते भए र अर्बौँको क्षति भयो। आन्दोलनको उपलब्धिको जस लिन धेरैले प्रयास गरे, तर कसैले निहत्था नागरिकको हत्या र अर्बौँको क्षतिको जिम्मा लिने चेष्टा गरेनन्। अस्पतालमा रहेका घाइतेहरूको कुरुवासम्म कोही भएनन्। आन्दोलनको उद्देश्य पक्कै पनि २०८४ मा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन २०८२ मा सम्पन्न गर्ने थिएन। डिस्कोर्डबाट प्रधानमन्त्री छान्ने थिएन। सडकमा हिँडेका व्यक्तिलाई तानेर मन्त्री बनाउन पक्कै होइन। सामाजिक सञ्जालमा नायकत्व गराएर कुनै व्यक्तिलाई सरकारको प्रमुख बनाउने झनै थिएन होला। न्यायालय जलाएर हजारौँ प्रमाण नष्ट गर्न र कैदीहरू भगाउन होइन होला। आन्दोलनको उद्देश्य, उठान, परिणाम र सरकार गठनसम्म आइपुग्दाका परिघटनाले आन्दोलन कसरी हाइज्याक भयो, विध्वंसमा को–को कसरी परिचालन भए र सरकार कसरी बन्यो भन्ने प्रश्नहरूको जवाफ दिनु नपर्ला। हिजो जे–जस्तो परिस्थिति भोगे पनि आज मुलुक निर्वाचनमा होमिएको छ। दलहरू निर्वाचनमा होमिएका छन्। भदौ २३ र २४ घटनाका दुवै पक्षहरू (हत्याहिंसा र विध्वंस) घरदैलोमा व्यस्त छन्। कर्मचारी, पत्रकार, इन्जिनियर, डाक्टर, युट्युबर, टिकटकर, माफिया, व्यापारी सबै उम्मेदवार बनेका छन्। आ–आफ्नो क्षेत्रमा सफल पात्रहरूको पछिल्लो रोजाइ राजनीति किन बन्न पुग्यो? राजनीति पेसा हो कि सेवा? नेता बन्नु आवश्यकता कि बाध्यता? नेता समाजमा आक्रोश, भ्रम र कुण्ठा छरेर बनिन्छ कि पारदर्शिता, उत्तरदायित्व, दीर्घकालीन दृष्टिले? मतदाताले प्रत्येक उम्मेदवारलाई यी प्रश्नहरू सोध्नुपर्छ। अर्कोतर्फ सामाजिक सञ्जाल भावना, प्रतिशोध र कुण्ठाको बजार बनेको छ, विवेकको होइन। उत्तेजना, भावना र प्रतिशोध बोकेका पात्रहरू उम्मेदवार बनेका छन्। नयाँ र पुराना दलहरूको भाष्यले मतदाताहरू विभाजित छन्। कन्भिन्स र कन्फ्युजनको राजनीतिले जनताहरू भ्रमित छन्। उही व्यक्ति पुराना दलमा हुँदा भ्रष्ट र नयाँ दल प्रवेशले चोखो? नयाँ र वैकल्पिक दलको लेपका उम्मेदवारहरूले मतदातासँग आफ्नो नीति तथा कार्यक्रम भन्दा पनि कुण्ठा र आक्रोश बाँडेका छन्। मतदाता कुनै भ्रममा अल्झिनु पर्दैन; कथित नयाँ दलका नेता र कार्यकर्ता उही पुराना दलबाटै आवश्यकता र अवसरको खोजीले फेरिएका हुन्। पुराना दलहरूलाई भ्रष्टाचारीको उपमा दिँदै सञ्जाल भर्नेहरूको इतिहास पनि झन् खराब र दूषित छ। अर्कोतर्फ, सामाजिक सञ्जालमार्फत पपुलिजमलाई अस्वाभाविक रूपमा बढावा दिइएको छ। नीतिभन्दा सामाजिक सञ्जालको पपुलिजम महत्त्वपूर्ण हो भन्ने भाष्य क्षण–क्षणमा विज्ञापन गरिएको छ। सञ्जालमा मुलुकको नेतृत्व हाँक्न अगाडि सारिएका पात्रहरू आफ्नो नीति र एजेन्डाहरू प्रस्तुत होइन, भीडको नायक बन्न देश दौडाहामा छन्। समाजका सञ्चित असन्तुष्टि, निराशा र परिवर्तनको चाहनाबाट पपुलिस्ट र सञ्जालको नायक बने पनि राष्ट्रको नेतृत्व लिन र सेवक बन्न निकै कठिन छ। लोकप्रियता क्षणिक र सहायक हुन सक्छ, तर पर्याप्त होइन। राष्ट्र निर्माण पपुलिजम र ट्रेन्डको लहरले होइन, नेतृत्वको निरन्तर प्रयास, नीति र उत्तरदायित्वले हुन्छ। जब सामाजिक सञ्जालको पपुलिजम शासनभन्दा माथि उठ्छ, तब मुलुक भूराजनीतिक सङ्कट र असफलतामा फस्छ। सामाजिक सञ्जालको पपुलिजमले सत्तामा पुगेका मुलुकहरूले अहिले भोगेको सङ्कटबाट हामी सजग हुन जरुरी छ। अन्तमा, सामाजिक सञ्जालले नायक देखाउन सक्छ, तर नेतृत्व छान्दैन। नेतृत्वको समर्थनमा तालीको आवाज चर्को हुन सक्छ, लाइक र कमेन्टको बाढी आउन सक्छ, तर राष्ट्रलाई अघि बढाउने शक्ति प्रायः शान्त, गम्भीर र दूरदृष्टिमा लुकेको हुन्छ। त्यसैले, डिजिटल प्रियताभन्दा दूरदृष्टि भएको नेतृत्व छान्ने मतदाताको आजको सबैभन्दा ठूलो राजनीतिक परिपक्वता हो। मत कुनै नेताको सामाजिक सञ्जालको प्रियता होइन, उसको नैतिकता र पारदर्शिता हेरेर दिनुपर्छ। सत्ता आफैँ उद्देश्य होइन; जनताको सेवा गर्ने उपकरण हो। नेता र नेतृत्व भनेको सेवा, उत्तरदायित्व र दूरदर्शी निर्णयको वहन हो। नेता देवत्व वा भनौँ सामाजिक सञ्जालको नायक होइन, जनताको विश्वासको संरक्षक हो। यस अर्थमा मतदाताले यही आवश्यकतालाई पूरा गर्ने सम्भावना बोकेको व्यक्तिलाई मत दिनुपर्छ, जहाँ नीति प्राथमिकतामा हुन्छ, व्यक्ति होइन; जहाँ सत्ता सेवा बन्नुपर्छ, नेता सेवक हो, देवत्व होइन।


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.com1 day ago
१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु – Online Khabar

Published: 20260221T151500Z

onlinekhabar.com1 day ago
जसको एजेन्डा प्रविधि , उही हो हाम्रो प्रतिनिधि

Published: 20260221T151500Z

onlinekhabar.com1 day ago
गगन दाइ हावाले पात हल्लाउँछ , पहाड होइन

Published: 20260221T053000Z

onlinekhabar.com1 day ago
स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता

Published: 20260221T053000Z

onlinekhabar.com2 days ago
ओली , बालेन , प्रचण्ड , सेना र विदेशी

Published: 20260220T111500Z

onlinekhabar.com2 days ago
१२ वर्षदेखि स्वतन्त्र उम्मेदवार : एक्लै घुमिरहेछन् मतदाताको घरदैलो

Published: 20260220T111500Z