NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
TrumpTariffTradeAnnounceLaunchNewsPricesStrikesMajorFebruaryPhotosYourCarLotSayCourtDigestSundayTimelineSafetyGlobalMarketTechChina
All Articles
१२ वर्षदेखि स्वतन्त्र उम्मेदवार : एक्लै घुमिरहेछन् मतदाताको घरदैलो
onlinekhabar.com
Published 2 days ago

१२ वर्षदेखि स्वतन्त्र उम्मेदवार : एक्लै घुमिरहेछन् मतदाताको घरदैलो

onlinekhabar.com · Feb 20, 2026 · Collected from GDELT

Summary

Published: 20260220T111500Z

Full Article

८ फागुन, धादिङ । हातमा सानो स्पिकर, गलामा परिचय र राष्ट्रिय झण्डा अंकित ब्यानर । झोलामा केही थान पर्चा अनि एउटा पुरानो डायरी र चिउरा–दालमोठ बोकेर धादिङका गाउँवस्ती घुमिरहेका भेटिन्छन् एक उम्मेदवार । धादिङ–२ का मतदाताको घरदैलो घुमिरहेका ती उम्मेदवार हुन्, ५२ वर्षीय रुद्रबहादुर गेलाङ । उनी स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएका छन् । धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुम घर भएका गेलाङको यो स्वतन्त्र उम्मेदवारी पहिलो भने होइन । २०७० सालयता उनी लगातार स्वतन्त्र उम्मेदवार बनेर मत मागिरहेका छन् । १२ वर्षदेखि निरन्तर उम्मेदवार बनेका गेलाङका लागि परिणाम भने त्यति सुखद र आशालाग्दो छैन । कुनै पनि निर्वाचनमा उनले १०० को आँकडा पार गर्न सकेका छैनन् । २०७९ सालको निर्वाचनमा सूर्यमुखी फूल चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका गेलाङले त्यतिबेला जम्मा ९२ मत पाएका थिए । २०७४ को निर्वाचनमा ७० मत पाएका उनले २०७० सालमा तत्कालीन धादिङ–१ बाट उठेर ५९ मत पाएका थिए । जहाँ पुग्छु, त्यहीँ बास माग्छु । बास नपाए गोठ, टौवा, प्रतीक्षालय र रुखमुनि नै रात कटाउँछु । – गेलाङ २१ फागुनमा हुने निर्वाचनमा उनको उम्मेदवारी दर्ताको कथा भने छुट्टै छ । निर्वाचन आयोगले २०७९ को निर्वाचनका बेला मतगणना सकिएको एक महिना भित्र सबै उम्मेदवारले निर्वाचन खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको थियो । खर्च सार्वजनिक नगर्ने उम्मेदवारहरू कालोसूचीमा पर्ने र निर्वाचन उठ्न नपाउने नियम थियो । २०७९ को निर्वाचनपछि उनले खर्चको विवरण सार्वजनिक गरेका थिएनन् । यो निर्वाचनमा उम्मेदवारी दिन आफू अयोग्य भएको कुुरा उनले ६ माघ २०८२ (मनोनयनको दिन) मा मात्रै थाहा पाए । उनले उम्मेदवारी कानुनको साथ खोजे । १५ हजार जरिवाना बुझाएको खण्डमा कालोसूचीबाट हट्ने जानकारी पाएपछि गेलाङले मनोनयनकै दिन जरिवाना बुझाएर स्वतन्त्र उम्मेदवारी दिए । उम्मेदवारी दर्ता गरेपछि उनी चुनाव चिह्न मुढा लिएर धादिङ–२ का ५१ वडामध्ये २३ वटामा प्रचारप्रचार गर्न पुगिसकेका छन् । सरस्वती क्याम्पसबाट स्नातक तह उत्तीर्ण गेलाङलाई नजिकबाट चिन्नेहरू जागिर छाडेपछि उनी राजनीतिक ‘फकिर’को रूपमा हिँड्न थालेको बताउँछन् । उनी आफ्नो श्रीमती र दुई छोरी भएको बताउँछन् । तर अहिले कोही पनि उनको साथमा छैनन् । समाज र देश परिवर्तनको हुटहुटीले आफूलाई राजनीतिले तानेको गेलाङ बताउँछन् । उनी आफ्ना एजेन्डा बुझाउँदै जनताका घरदैलोमा पुगिरहेका छन् । प्रत्यक्ष जननिर्वाचित राष्ट्रप्रति हुनुपर्ने, संघ र प्रदेश सांसद संख्या घटाएर जम्मा ३०० बनाउनुपर्ने, बुढीगण्डकी जलाशयुक्त आयोजना निमार्ण कार्य तत्काल गराउन पहल गर्ने, उत्तरी धादिङ तथा गोरखाका पहाडी क्षेत्रहरूलाई समेटेर राष्ट्रिय निकुञ्ज स्थापना गराउन ऐन, नियम, कानुन बनाउने, रुवीभ्याली गाउँलाई खनिज, जडीबुटी र पर्यटकीय रूपमा विकास गर्ने योजना उनको छ । गेलाङको राजनीतिक यात्राको उतारचढाव पनि निकै रोचक छ । उनी गेलाङ २०६५ सालसम्म स्थायी शिक्षक थिए । गोरखा मान्बुमा रहेको शंखादेवी प्राविमा ८ वर्ष अस्थायी र ५ वर्ष स्थायी शिक्षक भएका उनी पहिलो संविधानसभाको निर्वाचनपछि स्थायी जागिर छाडेर राजनीतिमा सक्रिय भए । पहिलो संविधानसभाको निर्वाचनपछि राजनीतिको भूत चढेपछि उनले सरकारी जागिर त्यागिदिए । सुरुमा तत्कालीन नेकपा माओवादीको स्थानीय नेतृत्वसमेत लिएका उनले २०७० सालको निर्वाचनदेखि भने स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् । आफ्ना दाजुभाइ र परिवारसँग टाढिएर उनको दैनिकी घरदैलो अभियानमै केन्द्रित रहेको छ । रोचक त के छ भने, उनी जनताको घरदैलो पुग्ने अभियान निर्वाचन हुने समयमा मात्रै होइन, निर्वाचन परिणाम आएको भोलिपल्टदेखि नै अर्को निर्वाचनको लागि सुरु गरिहाल्छन् । एक्लै हिँडेर चुनाव जितिन्छ त भन्ने प्रश्न गर्नेहरूलाई उनी मकवानपुरका रुपचन्द्र विष्ट, स्याङ्जाका शंकर पाण्डे, धरानका हर्क साम्पाङ, नानीमैया दाहाल जस्ता पात्रहरूको उदाहरण दिँदै उनीहरूका कथा सुनाइदिन्छन् । ‘जहाँ पुग्छु, त्यहीँ बास माग्छु । बास नपाए गोठ, टौवा, प्रतीक्षालय र रुखमुनि नै रात कटाउँछु,’ गेलाङले अनुभव सुनाए । घरदैलोमा हिँड्दा गाउँमा कुनै भोज–भत्तेर छ भने त्यहीँ पुगेर खाना खान्छन् । खाना नपाए झोलामा रहेको चिउरा र दालमोठले छाक टार्छन् । होटलमा बसेको दिन त्यहीँ काम सघाउँछन् र खर्च जोगाउँछन् । विगतको निर्वाचनमा उनीसँग हिँड्ने पाँच/सात जना सहयोगी देखिन्थे । यस पटक भने उनले एक जना मात्रै सहयोगी लिएर हिँडिरहेका छन् । गेलाङको निर्वाचन अभियानमा साथ दिने व्यक्ति हुन् ज्वालामुखी गाउँपालिका–४ आँखेटारीका रंगनाथ तिवारी । तिवारी २०७४ सालदेखि निर्वाचन आसापासका एक/डेढ महिना गेलाङको स्थायी कर्मचारी जस्तै हुन्छन् । उनीसँगै हिँड्छन्, सँगै खान्छन्, सँगै बस्छन् । तिवारी उनको राजनीतिक अभियानबाट प्रेरित भएर हिँडेका भने होइनन् । उनी ज्यालादारीमा गेलाङको काम (चुनाव प्रचार गर्न) गर्न हिँडेको बताउँछन् । निर्वाचन खर्च कसरी व्यवस्थापन हुन्छ त भन्ने प्रश्नमा गेलाङ भन्छन्, ‘२०७४ सालको निर्वाचनदेखि नै मैले स्वेच्छिक चन्दा संकलन अभियान चलाउँदै आएको छु ।’ उनको साथमा एउटा पुरानो डायरी छ । डायरीमा ५०० रुपैयाँभन्दा माथि सहयोग गर्नेहरूको नाम र सम्पर्क नम्बर लेखिएको छ । डायरीमा विगत निर्वाचनका धादिङका उम्मेदवार, उनीहरूले पाएको मत, पराजित हुनुका कारण र चुनावी विश्लेषणका जोडघटाउहरू पनि भेटिन्छन् । ‘२०७५ साल वैशाख १ गतेदेखि नै २०७९ को निर्वाचनका लागि मैले घरदैलो अभियान सुरु गरें । मेरा एजेन्डा, चुनावमा उठ्ने कारण लगायतका कुरा घरदैलोमा गएर सुनाउने र निर्वाचन सहयोगको लागि प्रति घरधुरी १०० रुपैयाँ चन्दा माग्न थालें,’ अनलाइनखबरसँगको कुराकानीमा गेलाङले भने, ‘मैले कसैलाई दबाब दिएर चन्दा मागिनँ । कसैले ५०० त कसैले १ हजार पनि दिनुभएको छ ।’ मागेरै खर्च चलिरहेको भए पनि जेनजी आन्दोलनपछि भने आफूले पैसा माग्न छाडेको उनले बताए । १०० रुपैयाँ चन्दा अभियान चलाउँदा गेलाङले ४ महिनाको प्रहरी हिरासत र जेलजीवन पनि भोगेका छन् । २०७६ असार २५ गते तत्कालीन विप्लव माओवादी भन्दै धादिङ प्रहरीले प्रक्राउ गरेर अभद्र व्यवहार र सार्वजनिक मुद्दा चलाएपछि धरौटी राख्ने पैसा नहुँदा ४ महिना जेलमा बिताएको उनले सुनाए । गेलाङले भने, ‘यसले घरघरमा पैसा उठाएर विप्लव माओवादीलाई दिन्छ भन्ने उजुरी कसैले दिएको रहेछ । त्यही उजुरीका आधारमा मलाई सार्वजनिक अपराध र अभद्र व्यवहारको लगाइएको थियो ।’ पछि भतिजोले धरौटी राखिदिएपछि रिहा भएका उनले ३ वर्ष तारेख धाएर अहिले मुद्दाबाट छुटकारा पाएको बताए । एक्लै हिँडेर चुनाव जितिन्छ त भन्ने प्रश्न गर्नेहरूलाई उनी मकवानपुरका रुपचन्द्र विष्ट, स्याङ्जाका शंकर पाण्डे, धरानका हर्क साम्पाङ, नानीमैया दाहाल जस्ता पात्रहरूको उदाहरण दिँदै उनीहरूका कथा सुनाइदिन्छन् । चुनावका क्रममा धादिङका २३ वटा वडा पुगिसकेको बताउने गेलाङको भन्छन्, ‘अघिल्ला वर्षहरू एजेन्डा बुझाउने समय थियो । अहिले चुनावको परीक्षा छ । त्यसैले केवल चुनाव चिह्न बुझाउँदै हिँडेको छु ।’ हारको डर नभएका र जितको लोभमा नफसेका यी अनौठा उम्मेदवारको चुनावी अभियानले भने धादिङका सवैलाई अचमिमत बनाएको छ ।


Share this story

Read Original at onlinekhabar.com

Related Articles

onlinekhabar.comabout 24 hours ago
१० हजार मतको अन्तरमा गगन थापालाई हराउँछु – Online Khabar

Published: 20260221T151500Z

onlinekhabar.comabout 24 hours ago
जसको एजेन्डा प्रविधि , उही हो हाम्रो प्रतिनिधि

Published: 20260221T151500Z

onlinekhabar.com1 day ago
गगन दाइ हावाले पात हल्लाउँछ , पहाड होइन

Published: 20260221T053000Z

onlinekhabar.com1 day ago
स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता

Published: 20260221T053000Z

onlinekhabar.com2 days ago
ओली , बालेन , प्रचण्ड , सेना र विदेशी

Published: 20260220T111500Z

onlinekhabar.com2 days ago
मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो – Online Khabar

Published: 20260220T081500Z