
annapurnapost.com · Feb 15, 2026 · Collected from GDELT
Published: 20260215T080000Z
नेपालको संविधान २०७२ को धारा २६७ ले सेनाको भूमिका तोक्यो। २६८ मा अन्य सुरक्षा अंग छन्। सैनिक ऐनअनुसार सेना परिचालित हुन्छ। प्रहरी ऐन २०१२ ले नियम बनायो। राज्य आधुनिक राजनीतिको एउटा प्रमुख आधार हो। भूगोल र जनता यसका अनिवार्य अंग हुन्। सरकार र सार्वभौमसत्ताले राज्य जीवित हुन्छ। अन्तर्राष्ट्रिय मान्यताले यसलाई पूर्णता दिने गर्छ। राज्यको विकासमा सेनाको भूमिका महत्त्वपूर्ण छ। सुरक्षाबिना सभ्य समाजको कल्पना हुन्न। राज्य र सुरक्षा एउटै सिक्का हुन्। ई.पू. १००० मा मनुस्मृति रचना गरिएको थियो। यो संसारकै सबैभन्दा पुरानो स्मृति ग्रन्थ हो। मनुले सुरक्षाको निकै गहिरो व्याख्या गरे, राजाले सेनालाई सधैं तयार राख्नुपर्छ। शक्ति प्रदर्शन समय समयमा गरिरहनु आवश्यक छ। विचार र राजकार्य सधैं गुप्त राख्नुपर्छ। गुप्तचरद्वारा शत्रुको कमजोरी पत्ता लगाउनुपर्छ। दण्डको प्रयोगले शत्रुलाई वशमा राख्नुपर्छ। यी विचारले सुरक्षाको महत्त्वलाई उजागर गर्छन्। राजनीतिक चिन्तन र सुरक्षाको आधार : राज्य प्रणाली चिन्तकहरूको अवधारणामा आधारित छ। राज्य र शास्त्रीबीच निकै गहिरो सम्बन्ध छ। सिद्धान्त र व्यवहार यसका दुई पक्ष हुन्। मनु र कौटिल्य पूर्वीय दार्शनिक हुन्। कन्फ्युसियस र गान्धी पनि यसैमा पर्छन्। प्लेटो र अरस्तु महान् युनानी विद्वान् हुन्। मेकियाभेली र रुसो मध्ययुगीन दार्शनिक हुन्। जोन लक र जिन ज्याक प्रमुख छन्। कार्ल माक्र्स र लेनिन समाजवादी विचारक हुन्। माओ पनि यसै विचारधाराका अगुवा हुन्। आदर्शवादी विचारकहरूमा हेगेल र ग्रिन पर्छन्। बेन्थम र मिल उदारवादी विचारक हुन्। उनीहरूले सेना र सुरक्षाको व्याख्या गरे। राज्यको अस्तित्वमा सुरक्षाको ठूलो महत्त्व छ। सुरक्षा राज्य निर्माणको प्रमुख सर्त हो। सिद्धान्तले यस तथ्यलाई स्वीकार गरेको छ। त्यसैले सायद विद्वान् अरस्तु भन्छन्, ‘राज्यको सुरक्षा नै नागरिकको स्वतन्त्रता हो।’नेपाल र नेपाली सेनाको गौरव : नेपाल र सेनाको चर्चा निकै सान्दर्भिक छ। पहिले नेपाल बाइसे–चौबिसे राज्यमा विभक्त थियो। यी राज्यरजौटाले सञ्चालन गरेका थिए। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे। नेपाली सेनाले एकीकरणको नेतृत्व लियो।सेनाको योगदानको इतिहास निकै गौरवशाली छ। सेनाबिना त नेपालको परिकल्पना सकिँदैन। विश्व मानचित्रमा अहिले १९५ देश छन्। १९३ राष्ट्र संयुक्त राष्ट्रसंघका सदस्य हुन्। दुई राज्य पर्यवेक्षकका रूपमा छन्। उपनिवेशमा नपरेका जम्मा १७ राष्ट्र छन्। नेपाल पनि ती स्वतन्त्र राष्ट्रमा पर्छ। यो तथ्य हाम्रा लागि गर्वको विषय हो। राज्यको इतिहासमा सैन्य भूमिका अन्तर्निहित छ। नेपालमा सुरक्षा र सेना : नेपाल र नेपाली सेना सँगै जन्मिए। सेनाको पसिनाले देशको नक्सा कोरियो। सकल दर्जाको पौरखले सीमा तोकियो। एकीकरणमा सेनाको इतिहास गौरवशाली छ। सेना व्यावसायिक र गैरराजनीतिक संस्था हो। यो सार्वभौमसत्ता र जनतासँग जोडिन्छ। अन्य निकाय आन्तरिक सुरक्षामा खटिन्छन्। जनसेवा र सहयोग यिनको लक्ष्य हो।नेपालमा प्रहरी र सशस्त्र प्रहरी छन्। राष्ट्रिय अनुसन्धान विभागले सूचना संकलन गर्छ। नेपालको संविधान २०७२ को धारा २६७ ले सेनाको भूमिका तोक्यो। २६८ मा अन्य सुरक्षा अंग छन्। सैनिक ऐनअनुसार सेना परिचालित हुन्छ। प्रहरी ऐन २०१२ ले नियम बनायो। प्रहरी संविधान र कानुनअनुसार चल्छ। सशस्त्र प्रहरी एक विशेष फौज हो। सशस्त्र प्रहरी ऐन २०५८ लागू छ। विशेष सेवा ऐन २०४२ अर्को आधार हो। अनुसन्धान विभाग कानुनअनुसार परिचालित छ। सबै अंग आफ्नै नियममा चल्छन्।सुरक्षा निकायबीचको उच्च समन्वय : सुरक्षा निकायबीच उच्च समन्वय छ। अन्तरसम्बन्धका आधारमा परिचालन हुने गर्छ। सेनाले संयुक्त कमान्ड पोस्ट बनाउँछ। अन्तर विभाग समन्वय निकै अनुकरणीय छ। यसले कार्य सम्पादनलाई प्रभावकारी बनाउँछ। विपद् व्यवस्थापनमा सेना सधैं अगाडि छ। २०७२ को भूकम्पमा उत्कृष्ट कार्य भयो। कोभिड–१९ महामारीमा सबैले मिलेर लडे। निर्वाचन सुरक्षामा निकै मजबुत समन्वय छ। हात–हतियार हस्तान्तरणमा सेनाको ठूलो योगदान छ।शान्ति सेना तालिममा सहकार्य हुने गर्छ। सशस्त्र प्रहरी आयोगमा सेना सदस्य हुन्छ। जिल्ला सुरक्षा समितिदेखि विश्व शान्तिका लागि संयुक्त तालिमसम्म यो खटिन्छ। द्वन्द्वको समयमा सबैले मिलेर काम गरे। विशिष्ट व्यक्तिको सुरक्षामा सबै अंग खटिन्छन्। महत्त्वपूर्ण संरचनाको सुरक्षा निकै कडा हुन्छ। शंकास्पद वस्तुहरू सेनाले निष्कृय पार्छ। चारवटै निकायबीच पूर्ण एकता देखिन्छ।व्यावसायिकता र बजेटको चुनौती : नेपालका सुरक्षा निकायहरू अत्यन्त व्यावसायिक छन्। देश र विदेशमा यिनको राम्रो पहिचान छ। कहिलेकाहीँ सार्वजनिक टीका–टिप्पणी हुने गर्छ। यो निकै दु: खद पक्ष मानिन्छ। सुरक्षाबिना सार्वभौमसत्ता सम्भव छैन। आर्थिक समृद्धि सुरक्षामा नै निर्भर रहन्छ। सुरक्षा निकायहरू कानुनअनुसार चल्छन्। सुरक्षाकर्मी बर्दी लगाएका सच्चा पहरेदार हुन्। सुरक्षा व्यवस्थापन निकै खर्चिलो विषय हो।विश्वका मुलुकले ठूलो बजेट छुट्याउँछन्। नेपालमा बजेटको अवस्था निकै न्यूनतम छ। यसले दक्ष जनशक्ति उत्पादनमा असर गर्छ। सुरक्षा विकास एक निरन्तर चल्ने प्रक्रिया हो। क्षमता बढाउन पर्याप्त स्रोत र साधन चाहिन्छ। नेपाल दुई ढुंगाबीचको तरुल हो। यो दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। त्यसैले नीतिनिर्माताले सुरक्षामा ध्यान दिनुपर्छ। व्यवस्थित सुरक्षा नीति बनाउन ढिला गर्नुहुन्न।चुनौती, कूटनीति र सामूहिक संकल्प : अन्तर्राष्ट्रिय र आन्तरिक चुनौतीहरू बढ्दैछन्। नीति र परिचालन तहको तालमेल चाहिन्छ। प्रविधिले नयाँ सुरक्षा चुनौतीहरू थपेको छ। समयमै पहलका लागि समन्वय निकै जरुरी छ। विश्व शक्ति सन्तुलन अहिले फेरिने क्रममा छ। आन्तरिक राजनीतिक अस्थिरता एउटा प्रमुख समस्या हो। आर्थिक र सामाजिक द्वन्द्वले चुनौती बढाएका छन्। सुरक्षा नीति राष्ट्रिय हित अनुकूल हुनुपर्छ।सन्तुलित परराष्ट्र नीति आजको ठूलो आवश्यकता हो। सबल कूटनीतिले देशको सुरक्षा बलियो पार्छ। सामाजिक सञ्जालले आगामी परिस्थितिको संकेत गर्छन्। यसबाट हुने समस्या समयमै समाधान भए मात्रै शान्ति कायम हुन्छ। सुरक्षाकर्मीले धरातलीय यथार्थता बुझ्न जरुरी छ। देश प्रेम हामी सबैको साझा धर्म हो। संक्रमणकाल पार गर्न सामूहिक भावना चाहिन्छ। राष्ट्रिय एकता र सामाजिक सद्भाव सबैले सदा कायम गरौं।साउद सशस्त्र प्रहरी बल नेपालका पूर्वसशस्त्र प्रहरी उपरीक्षक हुन्।