
election.onlinekhabar.com · Feb 27, 2026 · Collected from GDELT
Published: 20260227T004500Z
कर्णाली प्रदेशमै परिचित नाम हो, महेन्द्रबहादुर शाही । दश वर्षे सशस्त्र संघर्षका एक कमान्डर महेन्द्रबहादुर २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि बनेको कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुन् । उनै शाही कालीकोटबाट संघीय संसद्मा चौथो जितको खोजीसहित चुनावी मैदानमा छन् । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका २३ दल र घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका नेता रहेका महेन्द्रबहादुर जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाका सदस्य पनि हुन् । महेन्द्रबहादुर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । त्यसपछि पार्टीले २०७४ को निर्वाचनमा उनलाई कर्णाली प्रदेश सभा सदस्यका लागि कालिकोट अन्तर्गतको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (१) बाट उम्मेदवार बनाएको थियो । यसपटक उनी विजयी हुँदै कर्णालीको पहिलो मुख्यमन्त्रीसम्मको जिम्मेवारीमा पुगे । उनले २०७४ फागुनदेखि २०७८ सम्म मुख्यमन्त्रीको जिम्मेवारी निभाए । २०७९ सालमा भने पार्टीले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको गठबन्धनका साझा उम्मेदवार रहेका महेन्द्रबहादुर २३ हजार ७२७ मतसहित विजयी भए । माओवादीका पूर्वलडाकु कमान्डर महेन्द्रबहादुरले युद्धकलामा कालिकोटमा माओवादी संगठन विस्तारमा उल्लेख्य भूमिका निभाएका थिए । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने महेन्द्रबहादुर युद्धकालमा ६ नम्बर र ७ नम्बर डिभिजनको कमान्डर बनेका थिए । उनले सशस्त्र संघर्षको समयमा ठूला–ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए । १५ माघ २०३३ मा पचालझरना गाउँपालिका–९ (साबिकको नानीकोट– ८ कोटिला) कालिकोटमा जन्मिएका महेन्द्रबहादुरले वडीमालिका माध्यामिक विद्यालय रास्कोटबाट एसएलसी पास गरेका छन् । २०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका महेन्द्रबहादुरले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु गरेका हुन् । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुटे । २०४९ मा प्रहरी वारेन्ट जारी भएका उनी २०५२ नेकपा (माओवादी)मा भूमिगत राजनीतिमा संलग्न भए । जनयुद्धमा होमिएका शाहीले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले । कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेनाको स्थापना भएको समयदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेलेका थिए । सशस्त्र युद्धमा सामेल भएका उनी २०५३ मा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेशका थिए । पश्चिम नेपालको बुटवलदेखि दार्चुलासम्मका आक्रमणमा जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा शाही संलग्न रहेका थिए । माओवादीको जनमुक्ति सेनामा वार्ड कमान्डर, स्क्वाड कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डरसम्म भएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज भए । हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता छन् । नेकपाका तर्फबाट उम्मेदवार बनेका महेन्द्रबहादुरले आफूले कार्यकाल पूरा गर्न नपाएकाले अधुरा एजेन्डा कार्यान्वयन गर्न जनतामाझ गइरहेको बताएका छन् । ‘यहाँका सबै खाले समस्याप्रति म जानकार छु नै, धेरै काम पनि मेरै कार्यकालमा पूरा भएका छन्,’ महेन्द्रबहादुर भन्छन्, ‘जनतालाई अधिकार सम्पन्न बनाउने र मतदातालाई सबै सरकारी सेवा प्रवाह उपलब्ध गराउन पनि मैले फेरि उम्मेदवारी दिएको हुँ ।’ शिक्षा एसएलसी पास संसदीय अनुभव संविधानसभा सदस्य (२०७०), कर्णाली प्रदेश सभा सदस्य (२०७४), प्रतिनिधिसभा सदस्य (२०७९) २०७९ को मत २३७२७ हालको दल नेपाली कम्युनिष्ट पार्टी सरकारको अनुभव कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री (१६ मंसिर २०७५ देखि १५ कार्तिक २०७८)