
election.onlinekhabar.com · Feb 23, 2026 · Collected from GDELT
Published: 20260223T031500Z
२०६४ सालको संविधानसभा निर्वाचन जितेर संसदीय राजनीतिमा प्रवेश गरेका निधि कांग्रेसको महामन्त्री, उपसभापति हुँदै उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । मधेशका हेभिवेट नेताको रूपमा चिनिने कांग्रेस नेता विमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । २०६४ सालको संविधानसभा निर्वाचन जितेर संसदीय राजनीतिमा प्रवेश गरेका निधि कांग्रेसको महामन्त्री, उपसभापति हुँदै उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी सभापतिको उम्मेदवार थिए । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजनामा आफू नपरेपछि उनले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गरे । धनुषाको नगराइन नगरपालिका–२ निवासी निधिको राष्ट्रिय राजनीतिमा उल्लेखनीय प्रभाव रहँदै आएको छ । गान्धीवादी नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रले निधिको राजनीतिक यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो । उनी १४ वर्षकै उमेरदखि विद्यार्थी राजनीति गरेका थिए । बीपी कोइरालाले उनलाई २०३६ सालको जनकपुर अधिवेशनमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनाएका थिए । त्यसबेला महेन्द्रनारायणका छोरा विमलेन्द्रलाई बीपीले अध्यक्ष बनाएको आरोप लागेको थियो । उनी बीपीले 'प्रोजेक्सन' गरेका नेताका रूपमा चिनिन्छन् । तर, नेविसंघको अध्यक्ष भएपछि उनले आफ्नो राजनीतिक प्रभावलाई देशव्यापी बनाए । २०३६ सालको जनमत संग्रहमा उनले हजारौँ युवा विद्यार्थीहरूको नेतृत्व गर्दै बहुदलको पक्षमा माहोल सिर्जना गरेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा धनुषा–४ बाट पहिलो पटक सांसद चुनिएका निधि २०६४ र २०७० को दुवै संविधानसभा निर्वाचनमा धनुषा-३ बाट निर्वाचित भए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी राजपाका नेता राजेन्द्र महतोसँग २,९०३ मतान्तरले पराजित भए। २०७९ को निर्वाचनमा भने उनी समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए । बीपीले नेविसंघको अध्यक्ष बनाए पनि नेपाली कांग्रेसको राजनीतिमा निधि सधैं गिरिजाप्रसाद कोइराला र कोइराला धारको विपक्षमा रहे । उनी २०५३ को नवौं महाधिवेशनमा गिरिजाप्रसाद विरुद्ध सभापतिमा उम्मेदवारी दिएका चिरञ्जीवी वाग्लेको पक्षामा खुलेर लागेका थिए । त्यही महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्य बन्न सफल भए । त्यसपछि निधि नेपाली कांग्रेस भित्र सभापति शेरबहादुर देउवाका अत्यन्त निकट र विश्वासपात्र रहँदै आएका थिए । पार्टी विभाजन हुँदा पनि उनी देउवाको पक्षमा उभिए । दुई कांग्रेसको एकता भएपछि उनी २०६३ सालमा पार्टीको महामन्त्री बनेका थिए । २०७५ को १३औं महाधिवेशनपछि उनी कांग्रेसको उपसभापति बनेका थिए । २०७८ सालमा भएको १४औँ महाधिवेसनमा भने निधि सभापतिको उम्मेदवार भएर तेस्रो बढी भोट ल्याए । त्यसपछि दोस्रो चरणको महाधिवेशन हुँदा उनले देउवालाई नै समर्थन गरेका थिए । २३-२४ भदौमा जेनजी आन्दोलनपछि कांग्रेसमा विशेष महाधिवेशनको माग भएकोमा निधि त्यसको विपक्षमा उभिएका थिए । तर विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि भने उनी आम चुनावको टिकट लिएर निर्वाचन क्षेत्रमा खटिएका छन् । उनले पार्टीको 'केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान'को प्रमुख हुँदा कांग्रेसका लागि ९ वटा नवीन अवधारणा (अहिंसा र शान्तिसहितको लोकतान्त्रिक समाजवाद) अघि सारेका थिए । राजकीय जिम्मेवारीका हिसाबले २०५२ सालमै सामान्य प्रशासन मन्त्री बनेका निधि २०५९ सालमा शिक्षा मन्त्री बनेका थिए । २०७० सालको चुनावपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यस्तै २०७३ सालमा कांग्रेस–माओवादी गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेल्दै उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । २०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रकरणमा असहमति जनाउँदै उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा निधिले नेकपा एमालेका उम्मेदवार हरिदेव मण्डललाई पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले नेतृ जुली महतोलाई पराजित गर्दै दोस्रो पटक संविधानसभा सदस्य बन्न सफल भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने निधि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोसँग पराजित भए । २०७९ को निर्वाचनमा भने निधि समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए । यसपटक उनी प्रत्यक्षमा चुनाव जितेर पार्टी भित्र र राष्ट्रिय राजनीतिमा प्रभुत्व पुनर्स्थापित गर्ने लक्ष्यसहित मैदानमा होमिएका छन् । शिक्षा स्नातकोत्तर संसदीय अनुभव ४ पटक सांसद निर्वाचित सरकारको अनुभव सामान्य प्रशासन मन्त्री (२०५२), शिक्षामन्त्री (२०५९), भौतिक पूर्वाधार मन्त्री (२०७०), उपप्रधान तथा गृहमन्त्री (२०७३)